रेडपान्डा संरक्षण गर्न रोल्पामा दोस्रो चरणको परियोजना

रोल्पामा पहिलोपटक २०७२ मा रेडपान्डाको जोडी भेटिएपछि त्यसयता खोजी र संरक्षणका कार्यक्रम थालिएको हो

चैत्र २९, २०८१

काशीराम डाँगी

A second phase project at Rolpa to conserve red pandas

रोल्पा — उपल्लो रोल्पाका माथिल्लो भेगमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा  दोस्रो चरणको परियोजना ‘समुदायमा आधारित रेडपान्डा (हाब्रे) संरक्षण परियोजना–२’ सुरु भएको हो । 

निकै सुन्दर वन्यजन्तु रेडपान्डाको बासस्थान संरक्षणमा ध्यान पुर्‍याउन परियोजना सञ्चालन गरिएको रोल्पास्थित मानवअधिकार सचेतन केन्द्र हुरेकले जनाएको छ । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भोलानाथ आचार्यले बताए । पहिलो चरणमा रोल्पासहित डोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । पहिलो चरणमा रोल्पा नगरपालिकासहित थबाङ, सुनछहरी, गंगादेव र परिवर्तन गाउँपालिकामा कार्यक्रम गरिएको थियो । 

दोस्रो चरणको परियोजना ५ वर्षसम्म चल्नेछ । रेडपान्डा भएको स्थानको अनुसन्धान र अनुगमन, जनचेतना विकास, बासस्थान व्यवस्थापन, स्थानीयका लागि दिगो जीविकोपार्जनका कार्यक्रम र प्रवर्द्धन हुनेछ । सुनछहरी गाउँपालिकामा कार्यक्रम क्षेत्र परेको र त्यसभित्र ५ वटा सामुदायिक वन र २ वटा विद्यालय रहेकाले जनचेतना विस्तार गरेर रेडपान्डा जोगाउन स्थानीयलाई समेत सहभागी बनाउने कार्यक्रमको लक्ष्य रहेको छ । प्रहरीका अनुसार केही वर्षअघि यस क्षेत्रबाट चोरी गरिएका रेडपान्डाका छालासहित केही व्यक्तिलाई प्रहरीलाई दाङ र प्युठानबाट नियन्त्रणमा लिएको थियो । 

सुरु अवधिमा रेडपान्डा नेटवर्कले १५ लाख बजेट खर्चेकामा दोस्रो चरणको पहिलो वर्ष ३९ लाख बजेट खर्च गर्ने योजना  छ । पहिलो चरणको कार्यक्रम कोरोना कहरले प्रभावित भएको हुँदा पूरा अवधि चल्न नसकेको हुरेकका कार्यकारी निर्देशक राजु आचार्यले बताए । सुरु अवधिमा करिब अढाइ वर्षसम्म कार्यक्रम सञ्चालन गर्ने लक्ष्य भए पनि कोरोनाले प्रभावित बनाएको थियो ।

रोल्पामा पहिलोपटक २०७२ माघ पहिलो साता पूर्वी रोल्पाको गाममा एक जोडी रेडपान्डा फेला पारिएको थियो । गामका ५९ वर्षका मनबहादुर बुढा र उनकी श्रीमती ५० वर्षकी लहरी बुढाले जंगलमा भेटाएको जोडी रेडपान्डा घरमा केही समयसम्म पालेर सुरक्षित राखेका थिए । भेटिएको रेडपान्डा जोडीलाई नै जिल्ला वन कार्यालयको पहलमा जावलाखेलस्थित सदर चिडियाघरमा संरक्षित गर्न पुर्‍याइएको थियो । फेला पारिएको रेडपान्डाको तौल २ किलोभन्दा बढी थियो । कम उमेरका रेडपान्डा फेला पारिएपछि लहरी दम्पतीले जोडी रेडपान्डालाई हुर्काउन बाख्रा, गाई र भैंसीको दूध खुवाएका थिए ।

उक्त घटनापछि त्यस क्षेत्रमा रेडपान्डाको खोजी थालिएको हो । रेडपान्डा फेला पारिएको पूर्वी रोल्पाको गाम सबैभन्दा ठूलो क्षेत्रफल भएको साबिकको गाविस हो । भित्री र बाहिरी गरी गाम दुई खण्डमा विभाजित छ । समुद्र सतहदेखि गामको उचाइ १ हजार ५ सय देखि ४ हजार मिटरसम्मको छ । 

रेडपान्डा विश्वमै अति दुर्लभ वन्यजन्तुमा पर्छ । नेपालले संरक्षण गर्न विशेष नीति बनाएर पहल गर्दै आएको छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully