सातबुँदे घोषणापत्र जारी गर्दै पाणिनि सम्मेलन सम्पन्न

संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्न अनुरोध

चैत्र २८, २०८१

वीरेन्द्र केसी

The Panini conference was concluded by issuing the seven-point manifesto

अर्घाखाँची — दुई दिनसम्म सञ्चालन भएको ‘पाणिनि तपोभूमि सम्मेलन–२०८१’ सातबुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । संस्कृत व्याकरणको रचनास्थल पाणिनि गाउँपालिका–१ र २ को संगमस्थान पणेनास्थित तपोभूमिमा आयोजित सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका हुन् ।

विहीबार दिनभर चारवटा कार्यपत्रमा छलफलपछि सातबुँदे घोषणपत्र जारी गरिएको हो । बुटवलका पत्रकार तथा लेखक डीआर घिमिरेको संयोजकत्वमा तयार पारिएको घोषणपत्रमा पाणिनि व्याकरण र संस्कृत भाषा प्रवर्द्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने उल्लेख छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि संस्कृत विश्वविद्यालयसँग सहकार्य गरिने पाणिनि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । 

पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सृजनास्थल भएकाले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्न सक्ने गरी अनुसन्धान र सृजनाका लागि पूर्वाधारको व्यवस्था गरिने पनि घोषणापत्रमा उल्लेख छ । 

पाणिनि तपोभूमिको वरपर दुर्वासा मुनिको आश्रम छ । महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र छ । प्रख्यात् कालीगण्डकी नदीको संगम छ । यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल छ । नर्तनाचलमै ऐतिहासिक सुपा देउराली मन्दिर र दक्षिणी भागमा रामले वाण हानेर पहरो फोरेर पानी निकालेको बांणगंगा नदी छ ।The Panini conference was concluded by issuing the seven-point manifesto

यिनै पृष्ठभूमिमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक सांस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 

महर्षि पाणिनीय व्याकरणसम्बन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने, पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने भएकाले विभिन्न सरोकावाला निकाय र विज्ञहरूसँगको परामर्शबाट सम्पदामैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई अगाडि बढाउने घोषणापत्रमा उल्लेख छ । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully