‘छोराले आफ्नै घरमा आगो झोस्यो, हामी त बेघर भयौं’

चैत्र २८, २०८१

महेश केसी

”Son set fire to his own house, we became homeless”

रुकुम पूर्व — सिस्ने गाउँपालिका-२ स्थित नायगाढ गाउँदेखि केहीमाथि रिजामा थियो चाउरे दमाईको घर । गाह्रो–माटोको बन्नो अनि ढुंगाको छानो भएको दुई तलाको यही घरमा गत सोमबार राति ८ बजेतिर एक्कासि आगो दन्कियो । प्यारालाइसिस भएर उठ्न–बस्न नसक्ने उनले आफ्नी श्रीमती र नातिनीलाई बाहिर हुत्याए अनि छिमेकी गुहारे ।

नायगाढ गाउँबाट हतार–हतार स्थानीय बासिन्दा आएर आगो निभाउने हर कोसिस गरे तर चैतको खडेरीले खंग्रङ्ङ भएको घरको आगो निभेन । झनै दन्कियो ।

स्थानीय तिलक रसाइली भन्छन्, ‘चाउरेकी जहानलाई बोकेर आगोको रापबाट बाहिर ल्यायौं । अनि भुइँतलामा रहेका गाईलाई पनि बाहिर निकाल्यौं । यसबोहक अरु निकाल्न सकिएन । मान्छे जोगिए तर घरसँगै सबै सम्पत्ति खरानी भयो ।’

उमेरले ६० वर्षका भए चाउरे । उनका ५ छोरी २ छोरामध्येका जेठा छोरा हुन्, हिरालाल । चाउरेका अनुसार तिनै छोराले आफ्नै घरमा आगो झोसेका हुन् । ‘आगो लगाएको त्यो दिन सधैंझैं रक्सीले मातिएर घर आयो अनि मेरो नाम लिँदै 'मार्छु' भन्यो । म त लुकेर बसेँ । केही बेरमा घरमा दनदनी आगो पो दन्कियो,’ अघिल्लो दिन आफूलाई आगोको भुंग्रोले खुट्टामा पोलेको फोका देखाउँदै उनी भन्छन्, ‘छोराले आफ्नै घरमा आगो झोस्यो, हामी त बेघर भयौं ।’”Son set fire to his own house, we became homeless”

हतार–हतार गएर श्रीमती र नातिनीलाई बाहिर निकाल्ने कोसिस गरेर गाउँलेलाई गुहारेको उनी सुनाउँछन् । उनले भने, ‘छोराले अघिपछि पनि रक्सी खाएर यसरी नै हामी सबैलाई दुःख दिने गरेको थियो । तर यसरी घरमै आगो झोस्ला भन्ने कहिले सोचेको थिइनँ ।’

उनी जहान ५ वर्षदेखि प्यारालाइसिस भएर एक ठाउँबाट अर्को ठाउँ सर्न नसक्ने अवस्थामा छिन् । ‘उपचार गर्न पैसा छैन हजुर, के गर्ने ? सबै भगवान् भरोसा चलिरहेको  छ,’ उनले भने ।

रक्सीले मातेर सताएकै कारण दुई वर्षअघि नै बुहारीले नाति (हिरालालको कान्छो सन्तान) लिएर घर छाडेको पनि उनले सुनाए ।”Son set fire to his own house, we became homeless”घरमा आगलागी गरेको आरोपमा घटनालगत्तै हिरालाललाई प्रहरीले पक्राउ गरी लगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले आफ्नै घर आगजनीको आरोप लागेका हिरालाललाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

चाउरेको घर आगोले खरानी भएपछि उनको परिवारलाई अहिले वडा कार्यालय र स्थानीयको सहयोगमा नजिकै निर्माणाधीन पालिका अस्पतालको क्यान्टिन भवनमा राखिएको छ । ‘हामीले वडाबाट र स्थानीय समेतको सक्रियतामा केही अत्यावश्यक सरसामानको जोहो गरिदिएका छौं । चाडै नै उनको घर बनाउन आवश्यक पहल हुनेछ,’ सिस्ने गाउँपालिका-२ का अध्यक्ष कृष्णबहादुर खड्काले भने । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully