रोल्पा — रोल्पामा आएको हावाहुरी र वर्षासँगै परेको चट्याङबाट एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार चट्याङले अरु दुई बालक घाइते भएका छन् ।
प्रहरीले बुधबार राति र बिहीबार बिहानसम्मको वर्षा र हावाहुरीसँगै विभिन्न स्थानमा चट्याङ परेको र मानवीय र भौतिक क्षति भएको जनाएको छ । चट्याङमा परेर रोल्पा नगरपालिका-१० कुटिबाङ घर भई सुनिलस्मृति गाउँपालिका-५ क्वालिगाउँस्थित गोठमा अभिभावकसँगै बसेकी स्थानीय झम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीमाथि सुतेकै अवस्थामा चट्याङ परेको थियो । प्रहरीले किशोरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ । उक्त घटना बिहीबार बिहान १ बजेतिरको हो । गोठमा सुतेका उनका बुबाआमालाई भने चोट लागेको छैन ।
उक्त गाउँकै स्थानीय टीकाबहादुर खत्रीको घरमा पनि चट्याङ पर्दा उनका छोरा १५ वर्षीय नवीन खत्री घाइते भएका छन् । यस्तै उनकै छिमेकी टीकाबहादुर घर्तीको घरमा पनि चट्याङ पर्दा उनकी छोरी १३ वर्षीया लिला घर्तीसमेत घाइते भइन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ । चट्याङमा परेर टीकाबहादुर घर्तीका दुई वटा बाख्रा मारिएका छन् ।
चट्याङ रातिमा परेकाले सर्वसाधारणलाई सुरक्षित हुन चुनौती भएको प्रहरीको भनाइ छ । घटनास्थल रोल्पा सदरमुकाम लिवाङ देखि करिब १५ किलोमीटर पूर्वोत्तरमा पर्छ ।
रोल्पास्थित जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार हावाहुरी र चट्याङले जिल्लाभर असर पारेको छ । उनका अनुसार हावाहुरीले दक्षिणी रोल्पाको रुन्टीगढी गाउँपालिका– ५, हापखोलामा रहेको बालकल्याण प्राविको भवनको छानो उडाएको छ । जस्ताको छानो भएको उक्त विद्यालयको सबै कागजपत्र भिजेर नस्ट भएको छ ।
यस्तै, पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ गाममा पनि चट्याङले स्थानीय घरहरुमा क्षति पुर्याएको छ । गाम गाउँका कुलबहादुर बुढाको ढुंगा, माटो र टिनले छाएको कच्ची घरमा चट्याङ पर्दा त्यहाँ रहेका सोलार प्यानल, ब्याट्री र साउन्ड बक्स जलेर पूर्णरूपमा क्षति हुनुका साथै घरको भित्ता पनि चर्किएको प्रहरीले जनाएको छ । अन्य स्थानको क्षति विवरण संकलन जारी राखिएको रोल्पाका प्रहरी प्रमुख भरत लामाले बताए ।
