हावाहुरीले पोलमा क्षति पुग्दा बाँकेमा विद्युत् सेवा अवरुद्ध

चैत्र २८, २०८१

रूपा गहतराज

Electricity service interrupted in Banke due to wind damage to poles

नेपालगन्ज — बाँकेमा बुधबार राति आएको भीषण हावाहुरीका कारण ठाउँठाउँमा विद्युत्‌का पोल ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा  अवरुद्ध भएको छ । 

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार भीषण हावाहुरीले धेरै ठाउँका विद्युत् पोल ढलेका छन् । बुधबार रातिबाटै नेपालगन्ज र आसपासका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका पोल र तार मा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको बताए । 

कोहलपुर नेपालगन्ज डबल सर्किट ३३ केभीको मेनलाइनका केही पनि पोल ढलेका, केही क्य्राक भएको र टावरमा समेत क्षति पुगेकाले मर्मतसम्भारको काम थालिएको प्रमुख लामिछानेले बताए ।

नेपालगन्ज कोहलपुर मेन लाइनमा तीन, डुडुवा गाउँपालिकामा पाँच, खजुरामा एक र नरैनापुरमा एक तथा नेपालगन्ज बजारभित्र चार वटा पोल ढलेको केन्द्रले जनाएको छ ।

बिहीबार बिहान पुन: हावाहुरी आएको र वर्षा समेत भएकाले क्षति विवरण संकलन र मर्मतसम्भारको कार्य अवरुद्ध भएको केन्द्रको भनाइ छ ।

रूपा गहतराज

Link copied successfully