तिलोत्तमा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सार्थक एवं प्रभावकारी कदम चाल्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेलाई आग्रह गरेका छन् ।
उद्घाटन भएको तीन वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका लागि दुःखद र पीडादायी रहेको उल्लेख गर्दै उनले शीघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन बिहीबार पत्राचारमार्फत मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।
‘विमानस्थल निर्माणका लागि यहाँका नगरबासीले आफ्नो पुर्ख्यौली थातथलोसमेत छाडेर जग्गा दिएको भन्दै उनले उडान नहुँदा नगरबासी, बुद्धिजीवी, उद्योगी–व्यापारी, पर्यटन क्षेत्रलगायत सिंगो रुपन्देहीसहित लुम्बिनी प्रदेशसमेत प्रभावित भएको उल्लेख गरेका छन्। 'निर्माण सम्पन्नपछि निजी क्षेत्र र नागरिक स्तरमा देखिएको उत्साह क्रमश: निराशामा बदलिँदै गएको छ,' पत्रमा भनिएको छ, 'अत्यावश्यक कार्यालय पनि नखोल्ने, विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिएपछि यहाँको सिंगो निजी क्षेत्र आक्रोशित छ । जुन स्वाभाविक पनि हो ।’
केही महिना उडान गरेका विमान कम्पनीले समेत उडान रोक्दा विमानस्थल सुनसान भएको र विमानस्थल निर्माणका क्रममा गरिएको अर्बौं लगानीलाई समेत सुरक्षित गर्न तत्काल अन्तर्राष्ट्रिय उडानको तालिका बनाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन् । निजी क्षेत्रले विमानस्थल सञ्चालनका लागि दिँदै आएको दबाब स्वाभाविक रहेको जनाउँदै उनले यसलाई गम्भीरतापूर्वक लिएर विमानस्थल सञ्चालनका लागि सार्थक प्रयास नभएमा आफू एवं सिंगो पालिकाले नै नेतृत्व गरेर दबाब सिर्जना गर्न बाध्य हुने अवस्था सिर्जना नगराउनसमेत पत्रमार्फत मन्त्री पाण्डेलाई सचेत गराएका छन् ।
