समस्याग्रस्त बाघलाई बर्दिया निकुञ्जले नियन्त्रणमा लियो

चैत्र २७, २०८१

कमल पन्थी

The troubled tiger was captured by Bardia Park

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ । दुई साता यता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित थिए ।

निकुञ्जका प्रमुख अशोकरामले सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा लिई निकुञ्जको मुख्यालय ठाकुरद्वारामा राखिएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले नियन्त्रणमा लिएको बाघ भाले भएको बताए । हात्ती परिचालनदेखि क्यामेरा ट्र्यापिङ गरिएको उनले जनाए । आहाराको अभावमा बाघ बाहिर निस्केर वस्तु भाउ खाने र मानिसमाथि आक्रमण गर्ने गरेकोले समस्याग्रस्त भनिने गरेको छ । केही दिन खोरमा राखेर उक्त बाघलाई निकुञ्जको कोरिडोरमा छाडिने बर्दिया निकुञ्ज स्रोतले बतायो । 

निकुञ्जको ठाकुरद्वारा र रम्मापुरमा चारवटा बाघ खोरमा राखिएको छ । खोरको अभावमा समातिएका बाघ पुनः निकुञ्जको खोरमा छाडिने गरेको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully