अर्घाखाँची — पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको स्थानमा हुने ‘पाणिनि तपोभूमी सम्मेलन’ उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची आउने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार साढे ११ बजे काठमाडौंबाट हेलिकप्टर चढेर तपोभूमिमा आउने कार्यक्रम तय भएको छ । पाकिस्तानको लाहोरबाट सयौंवर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका–१ र २ को पणेना जंगलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।
२०७६ सालमा नेपाल सरकराले सय गन्तव्यभित्र पाणिनि तपोभूमिलाई पनि समेटेको छ । लुम्बिनी प्रदेश सरकार पर्यटक विकास परिषद्, नेपाल पर्यटन बोर्ड, अर्घाखाँचीको पाणिनि गाउँपालिका र सीमा जोडिएको पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो ।
विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्त्वलाई सम्मेलन मार्फत प्रचारप्रचार गरी संसारभर चिनोउने उद्देश्य रहेको पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो दिन आज राजनीतिक नेतृत्वबाट पाणिनिको व्याख्या गर्ने र दोस्रो दिन धार्मिक सुरु र संस्कृतका विद्वाहरुबाट तपोभूमिको गुरुयोजनाको बारेमा प्रस्तुतिहरु रहने कार्यक्रम तय गरिएको जोशीले बताए ।
अहिले जंगल क्षेत्रमा भएको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै गुरुयोजना बनाएर विश्वभरका हिन्दू धर्म र संस्कृत भाषाप्रेमीहरुलाई पणेनामा ल्याउने र पर्यटन विकास गर्ने उद्देश्य सम्मेलनको रहेको उनले बताए ।
तपोभूमिका स्थानीयले बेलाबेलामा महायज्ञ लगाउने गरे पनि यति ठूलो कार्यक्रमको आयोजना यो पहिलो हो । प्रचार अभावमा तपोभूमि ओझेलमा परेको छ । यो सम्मेलनले पाणिनिको विकासको रुपरेखा कोर्ने र प्रधानमन्त्रीले उद्घाटन गरेपछि यसको महत्त्व अझ बढ्ने प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए ।
‘पाणिनि तपोभूमिलाई संघ सरकारले सय गन्तव्यमा राखेको छ,’ उनले भने, ‘यसलाई अब विश्व सम्पदा सूचीमा राख्नुपर्छ । यहाँ अध्ययन, योग र ध्यानको लागि हावापानी, वातावरण उपयुक्त छ ।’ संघ सरकारले नै गौरवको आयोजनाको रुपमा तपोभूमिको पूर्वाधारसहितको विकास गर्नुपर्ने उनको तर्क छ ।
पाणिनिको महत्त्वलाई विश्वसामु चिनाउन, प्रचारप्रसार गर्न राष्ट्रियस्तरको सम्मेलनले पाणिनिको प्राचीन गौरवलाई पुर्नजागृत गर्ने पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।
पाणिनिले तपस्या गर्दा शिवले वरदान दिएर १४ सुत्रको प्रतिपादन गरेको महत्त्वबारे छलफल गरिनेछ । सम्मेलनमा पाणिनि तपोभूमीको अर्थ र संस्कृत भाषाको विकासमा पारेको प्रभाव, पूर्वीय दर्शन एवं यसले मानव सभ्यातामा पारेको सकारात्मक प्रभावका बारेमा विज्ञबाट सम्मेलनमा प्रस्तुति रहने न्यौपानेले बताए ।
