नेपालगन्ज — यातायात व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारीले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक लाखौं रकम कलेक्सन गर्ने गरेको खुलेको छ ।
यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि यो रहस्य खुलेको हो ।
विभिन्न उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई निजले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको हो ।
