रोल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

चैत्र २६, २०८१

काशीराम डाँगी

Two people died in separate incidents in Rolpa

रोल्पा — रोल्पाको माडी गाउँपालिकामा सोमबार छुट्टाछुट्टै भएका दुई वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

माडी -२ घर्तीगाउँ नजिकै सहिदमार्ग अन्तर्गत बसको ठक्करले एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सहिदमार्गको घर्तीगाउँ- दुई खोली खण्डको लिवाङ मोड नजिकै सोमबार बिहान साढे ११ बजे घोराही देखि रुकुम पूर्वको चुनबाङ जाने बसले ठक्कर दिँदा माडी गाउँपालिका-१ औल निवासी ८० वर्षीय देवराज घर्तीको घटनास्थलमा नै ज्यान गएको थियो । उक्त बसमा सवार ती वृद्ध बसबाट ओर्लेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिएको हो ।

घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा घटना स्थलमा खटिएका प्रहरीले ना २ ख २७७८ नम्बरको बस र चालक रोल्पाको रुन्टीगढी-९ निवासी ३२ वर्षीय प्रकाश बोहरालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत लामाले बताए ।

यस्तै, माडी गाउँपालिका-१ पेदीखोला नजिकै सोमबार बिहान सवा ७ बजेतिर एउटा शव फेला परेको प्रहरीले जनाएको छ ।

घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गर्दा उक्त शव स्थानीय बमकुमारी बुढा मगरका श्रीमान् ४२ वर्षीय खर्कबहादुर बुढा मगरको भएको पहिचान खुलेको हो ।

श्रीमती बमकुमारी माइतीघर गएको र छोराछोरी छिमेकी आफन्तको घरमा गएको अवस्थामा घरबाट बिजुलीको तार तानेर नजिकै रहेको खोलामा माछा मार्न खोज्दा करेन्ट लागेको र घटन स्थलमै खर्कको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको हो ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully