बर्दिया — बर्दिया बढैयाताल गाउँपालिका–८ पशुपतिबजारमा बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । बुटवलबाट राजापुरतर्फ गइरहेको लु १ ख ९८७६ नम्बरको बस मंगलबार दुर्घटना भएको हो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भारत बहराइच जिल्ला पिप्रहवा थानाका ३० वर्षीय शिवकुमार क्रालेप, बढैयाताल–८ मुनालबस्तीका २८ वर्षीय रुपा परियार, राजापुरनगरपालिका–६ का ३० वर्षीय ईश्वर थारु, गुलरिया नगरपालिका–१२ का २० वर्षीय ईश्वर थारु, २६ वर्षीय साजन नाउ, बढैयाताल–८ मुनालबस्तीका चार वर्षीय अंश थारु र अनिता थारु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्तीमगरले बताए ।
यसैगरी अर्घाखाँची जिल्ला मालारानी–३ का ६४ वर्षीय काशीराम पोख्रेलको जिल्ला अस्पताल गुलरियामा उपचारपछि डिस्चार्ज गरिएको उनले जनाए ।
ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बस र चालक बुटवल नगरपालिका–६ का ३८ वर्षीय राजकुमार घलेलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको डीएसपी घर्तीमगरले जनाए ।
