करको दायरामा ल्याउन मुख्यमन्त्री आचार्यको जोड
दाङ — लुम्बिनी प्रदेशमा वन क्षेत्रबाट अपेक्षाअनुसार राजश्व संकलन हुन सकेको छैन । यसप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले चिन्ता व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता अनुगमन कार्यक्रमको मंगलबार देउखुरीमा उदघाटन गर्दै उनले वन क्षेत्रलाई अनिवार्यरूपमा करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
‘वन क्षेत्र अनिवार्य रूपमा करको दायरामा आउनुपर्छ । करको दायराभित्र पर्ने वनबारे कठोर बन्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने,‘सरकार राजस्व गुमाएर अगाडि बढ्न सक्दैन ।’उपभोक्ताको नाममा काठको दुरुपयोग हुने अवस्था रहेको उल्लेख गर्दै उनले यसप्रति विशेष ध्यान दिन आग्रह गरे ।‘उपभोक्ता समितिले वन राम्रो बनाउने हो, विकास निर्माणको काम सरकारले गर्ने हो,’ उनले भने ।
आचार्यले वनलाई प्रमुख आम्दानीको स्रोतको रूपमा लिँदै त्यसबाट कति उपलब्धि हासिल भएको छ भन्नेबारे समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।‘यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन हुने अपेक्षा थियो तर अपेक्षा गरेअनुसारको परिणाम आउन सकेन,’ उनले भने, ‘जंगलमा काठ थुप्रिएको छ, तर त्यो वर्षौंदेखि उठेको छैन । काठ धुलो बन्दैछ, आगोले खरानी बनाइरहेको छ ।’
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले वनप्रति जनताको समर्पण बढाउनुपर्नेमा जोड दिए ।‘वनमा स्रोतको भण्डार छ, तर हामीले सदुपयोग गर्न सकेका छैनौं,’ उनले भने ।
कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले नीतिनिर्माणको कार्यान्वयन कति प्रभावकारी भएको छ भन्नेबारे अध्ययन गरिने बताए ।‘हाम्रो प्रदेशमा वनको अवस्था कस्तो छ ? समृद्धिमा वनको योगदान के कस्तो छ ? सबै विषय अध्ययन गर्नु जरुरी छ,’ उनले भने ।
लुम्बिनी प्रदेशका ३ सय ६५ सामुदायिक वन, दुई वटा चक्ला वन र पाँच वटा साझेदारी वनमा सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ । लुम्बिनीमा ४ हजार ५२ सामुदायिक वन, ८ वटा साझेदारी वन, ४ सय १६ कबुलियत वन, ९ सय ३८ निजि वन, ३० वटा धार्मिक वन, २ वटा चक्ला वन र चार वटा संरक्षित वन रहेका छन् ।
