मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...

चैत्र २६, २०८१

सन्तोष महतारा

After the dead man's head dog shakes the village...

गुल्मी — मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि गुल्मीमा एक जना बेपत्ता व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ बेलपोखरामा सोमबार एउटा कुकुरले मुखमा च्यापेर मृत व्यक्तिको टाउको गाउँ डुलाएको थियो । 

कुकुरले मान्छेको टाउको च्यापेर डुलाइरहेको स्थानीय जनप्रतिनिधि सुन्दर कुँवरले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त मृत व्यक्ति वडा नम्बर ६ कै ५५ वर्षीय रतन शाही रहेको पहिचान भएको छ । उनी गाउँबाट हराएको साढे दुई महिना भन्दा बढी भएको थियो । कुकुरले शाहीको टाउकोको कङ्काल मुखमा च्यापेर हिँडेको थियो । 

मंगलबार भने स्थानीय र प्रहरीको खोजी कार्यपछि स्थानीय कालिका सामुदायिक जंगलमा उनका शरिरका अन्य कङ्कालसहित उनले लगाएको कपडा फेला परेका छन् । 

मृतक रतन शाहीको घरपरिवारमा कोही थिएनन् । उनी एक्लै बस्दै आएका थिए । घाँस काट्न जाने क्रममा लडेर घटना मृत्यु भएको हुनसक्ने अनुमान गरिएको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मुकेश थापाले बताए । 

फेला परेको कङ्काल शाहीकै भन्ने पहिचान भएको उनले लगाएको कपडा र छिमेकी दाजुभाईबाट पुष्टि भएको वडाध्यक्ष थापाले बताए । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक भुपेन्द्र थापा नेतृत्वमा ७ जनाको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन्तोष

Link copied successfully