वनमा आगो लगाउने युवक पक्राउ 

चैत्र २६, २०८१

वीरेन्द्र केसी

A young man who set fire to the forest was arrested

अर्घाखाँची — भूमिकास्थान नगरपालिका-७ पानडाँडा वन क्षेत्रमा डढेलो लगाउने २४ वर्षीय प्रदीप जिसीलाई प्रहरीले पक्राउ गरेको छ ।  डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले डढेलो लगाएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको बताए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

घटनाको अनुसन्धान गर्न डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृतका रूपमा दशिराम चौधरीलाई तोकेको छ ।  वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा डढेलो लगाउने कार्यलाई दण्डनीय अपराध मानिने भएकाले आरोप पुष्टि भएमा तीन वर्षसम्मको कैद वा ६० हजार रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

लुम्बिनी प्रदेश सरकारले मंगलबार डढेलोको घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको थियो । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण र वन संरक्षणमा आम नागरिकको सहकार्य आवश्यक रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ ।

पानडाँडामा चैत १८ गते आगलागी हुँदा स्थानीय लोकबहादुर थापाको तीन तले घर, रेलबहादुर थापाको कच्ची गोठ र तिलकबहादुर रायमाझीको कच्ची घर र शौचालय जलेर नष्ट भएका थिए । गोठमा रहेका एउटा भैंसी, एउटा पाडो, ९ वटा बाख्रा र ५९ वटा कुखुरा जलेर नष्ट भएको हो । घर नजिकैको वनमा लागेको डढेलो घरमा लागेको थियो ।

सूचना अधिकारी खड्काका अनुसार १२ हेक्टर क्षेत्रफल वन जलेको छ । जिसीले वनमा बाख्रा चराउन गएको बेला वनमा आगो लगाएको र वनमा फैलिएपछि जिसी भागेको स्थानीयले वन कार्यालयलाई खबर गरेपछि पक्राउ परेका हुन् । जिसीले भने अस्वीकार गरेका छन् । 

वीरेन्द्र

Link copied successfully