'क्यूआर'बाटै प्रहरीमा उजुरी

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सबैले देख्ने गरी गेटमै ८ प्रकारका क्यूआर राखिएका छन्

चैत्र २५, २०८१

मनोज पौडेल

Complain to the police through 'QR'

कपिलवस्तु — यशोधरा गाउँपालिकाका हरिराम गुप्ता जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए। लेख्न नजानेका उनी प्रहरी कार्यालयको गेट बाहिर लेखनदास खोज्दै थिए। धेरैबेरसम्म अलमलमा परेको देखेपछि नजिकै नागरिक सहायता कक्षमा रहेका प्रहरीले मोबाइलमा क्यूआर कोड स्क्यान गरेर प्रिन्ट गरेर एक पाना ल्याउन सुझाए।

आफ्नो मोबाइलमा क्यूआर स्क्यान गरी नजिकैको पसलबाट प्रिन्ट गरेर त्यसमा प्रहरीले नाम, ठेगाना र विवरण भरिदिएपछि गुप्ताले मुद्दा शाखा उजुरी बुझाए । उनका अनुसार उजुरी प्रिन्ट गर्न १० रुपैयाँबाहेक खर्च लागेन।

कपिलवस्तु प्रहरीले गत मंसिरदेखि प्रविधिको प्रयोग गर्दै आठ प्रकारका क्यूआरबाट उजुरी र निवेदन लिने गरेको छ । समस्या लिएर आउने जो सुकैले पनि क्यूआर स्क्यान गरेर निवेदन दिन सक्ने व्यवस्था गरिएपछि सेवाग्राहीलाई निकै सहजता भएको छ । प्राविधिक ज्ञान भएकाले आफैँ निवेदन स्क्यान गरेर भरेर दिन्छन् ।

नजान्नेका लागि प्रहरी कार्यालयको गेटमा रहने नागरिक सहायता कक्षले सहयोग गर्ने ब्यवस्था मिलाइएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीले बताए । यस्तो प्रविधिको प्रयोग गरेर निबेदन दिने ब्यवस्था अन्यत्रका कसै कार्यालयमा नभएको उनले दाबी गरे । ‘यसको राम्रो रेसपोन्स पाएका छौं । त्यसैले उत्साहित भएर काम गरेका छौं,’ उनले भने ।

यो सुविधा सदरमुकाम तौलिहवामा रहेको जिल्ला प्रहरीसहित मुद्दा चल्ने ६ ठाउँमा उपलब्ध छ । तौलिहवासँगै इलाका प्रहरी कार्यालय पिपरा, गोरुसिङ्गे, कृष्णनगर, गणेशपुर र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट प्रविधिमैत्री निवेदन लिने ब्यवस्था गरिएको छ । फागुनबाट सुरुवात गरिएको यो अभ्यासबाट ३४ जनाले सुविधा लिएका छन् ।

Complain to the police through 'QR'

प्रहरी कार्यालय परिसरमा सबैले देख्ने गरी सुरुमै गेटमा ८ प्रकारका क्युआर राखिएका छन् । त्यस्तै कार्यालयभित्र रहेका प्रतिक्षालय, कन्ट्रोल रुम र अन्य ठाउँमा राखिएको छ । यी क्युआरमा मानिस हराएको, सवारीसाधन हराएको, मोबाइल हराएको, उजुरी निवेदन र जाहेरी दरखास्तको ढाँचा राखिएको छ ।

त्यस्तै सवारी दुर्घटना प्रमाणित, साइबर अपराध र जिल्लाका प्रहरीको गुनासो/सल्लाहका लागि छुट्टाछुट्टै नमुना फारम राखिएको छ । क्युआर कोड ढाँचामा निबेदन दिँदा चाहिने अन्य कागजातको विवरण पनि उल्लेख गरिएको छ । फारामलाई इमेलबाट पनि पठाउने र घर गएर भरेर ल्याउने सुविधा पनि छ ।

प्रहरी कार्यालयलाई निवेदन लेख्न पर्दा लेखनदास वा वकिललाई ५ सय देखि २ हजारसम्म तिर्नु परेको सेवाग्राही सुनाउँछन् । प्रहरीसम्म आउने भनेको अधिकांश पीडित भएर आउँछन् । त्यसमाथि अस्वभाविक खर्च गर्नु पर्दा झन्झट र खर्च थपिने गरेकाले क्यूआर सुविधाले सहज बनाएको सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवाका अध्यक्ष देवीप्रसाद बर्माले बताए ।

विपन्न व्यक्तिलाई जाहेरी वा निवेदनकै लागि ऋणगर्जो गर्नुपर्ने अवस्था अन्त्य भएको उनले बताए । यस्तो ब्यवस्थाले भाषाको ज्ञान छैन् भन्दै विचौलिया ल्याएर अनावश्यक खर्च गराउने चलन अन्त्य भएको डिएसपी अधिकारीले बताए ।

यो व्यवस्थाले प्रभावितसँग प्रहरीको सिधा सम्पर्क स्थापना हुने भएकाले कानुनी उपचारमा पनि सहजतासँगै न्याय प्रणालीलाई संस्थागत र सदृृढ गर्ने अपेक्षा गरिएको अध्यक्ष बर्माले बताए ।

युवापुस्ता प्रविधिमैत्री हुँदै गएकाले उनीहरुको सहजताका लागि यसले सहयोग पुर्‍याउने प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउँछन् । ‘यहाँ थालिएको प्रहरीको अभ्यासले उनीहरुलाई अन्य बेला पनि काम गर्न सहयोग पुर्याउँछ । नागरिकलाई हरेक कुरामा प्रविधिमैत्री बनाइरहेका बेला प्रहरीको नयाँ अभ्यासबाट अन्य निकायले पनि सिक्न सक्ने छन्,’ उनले भने ।

जिल्ला प्रहरीले गत मंसिरदेखि प्रहरीले सेवाग्राहीलाई निःशुल्क निवेदन र उजुरी लेख्ने सुविधा दिँदै आएको हो । भाषाको समस्या भएका र लेख्न नजान्नेका लागि नागरिक सहायक कक्षमा सहयोगी प्रहरी राखिएको छ ।

अहिलेसम्म १ सय २० जनाले यस्तो सुविधा लिएका छन् । पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गेमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि बिलबुक र लाइसेन्स हराएको निवेदनका लागि कार्यालयको गेटैमै क्यूआर टाँसेरस्क्यान गर्ने व्यवस्था गरेको छ।

मनोज पौडेल

Link copied successfully