माओवादी जनयुद्ध कालमा भूमिगत भएका महिलाहरू अहिले अल्लोका कपडा बुनेर जीविकोपार्जन गरिरहेका छन्
रोल्पा — कुनै सभा सम्मेलन होस् वा मौकाले घुम्न आइपुगेका पाहुनाहरू नै किन नहोऊन्, रोल्पामा पाहुनालाई उपहार दिने चलन छ- अल्लोबाट बनाइएका कपडा र सामाग्रीहरू। पाहुनाको स्वागत र मायाको चिनो स्वरुप अल्लोका कपडा र सामाग्रीको उपयोग बढेको बढ्यै छ।
अल्लो यहाँको स्थानीय उत्पादन हो। जसकारण रोल्पाली मायाको चिनोको रुपमा अचेल अल्लोबाट उत्पादित सामानको प्रयोग बढेको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्नकैलागि यहाँको रोल्पा नगरपालिकाले जनप्रतिनिधिको औपचारिक पोशाकको रुपमा अल्लोका कपडा प्रयोग गर्ने नीतिगत निर्णय गरेको छ। कार्यपालिका बैठक, अधिवेशन वा नियमित बैठकमा उपस्थित हुँदा हरेक सदस्यले अल्लोकै पोशाक लगाउने (अल्लोको कपडाको कोट र टोपी वा सल) गरेका छन्।
अल्लोको कपडाबाट झोला, पर्स, सर्ट लगायतका सामाग्री पनि उत्पादन भइरहेका छन्। रोल्पा आउने जो कोही नयाँ आगन्तुकलाई चिनोस्वरुप रोल्पाली झोला दिने चलन बढ्दो छ। ‘धागो खोज्ने र उद्योगसम्म पुर्याउने काम दुःखको छ । तर धागोबाट कपडा बुनेपछि बिक्री गर्दा आनन्द लाग्छ,’ अल्लो धागोको उद्योग नै संचालन गरेर व्यवसायिक उद्यमी बनेकी थबाङकी श्रीमाया रोका भन्छिन्, ‘कच्चा पदार्थ पाउन सके उद्योग चलाउन र आयस्रोत वृद्धि गर्न सजिलो छ ।’
अल्लोबाट बुनेको झोला, टोपी, मोबाइल पर्स लगायतका सामग्री प्रयोग गर्न पाउँदा जोकोहीलाई पनि रमाइलो महसुस हुन्छ । शान्ति प्रक्रियापछि अल्लोको प्रयोग बढेको पूर्वउद्यमी तथा रोल्पा नगरपालिकाकी उपप्रमुख गीता थापा आचार्य बताउँछिन्।
उनी भन्छिन्, ‘नगरमा निर्वाचित हुनुअघि मेरो मुख्य काम अल्लोको उद्योग चलाउनु नै थियो । राजनीतिमा लागेको पृष्ठभूमिका कारण म नगरमा निर्वाचित हुने मौका पाएँ, अब फर्केर पुनः अल्लो उद्योग नै चलाउने सोचेकी छु ।’ उनी र साथीहरूको सक्रियतामा धेरै वर्षअघि लिबाङमा रोल्पा सामुदायिक अल्लो तथा कपडा उद्योग संचालन गर्न सुरु गरिएको थियो । सुरुदेखि नै अल्लो उद्योग चलाउन सबैलाई भ्याइ नभ्याई थियो ।
‘सुरुमा १७ जनाको साझेदारीमा उद्योग चलायौं’ उनी भन्छिन्, ‘पछि उद्योग पनि बढ्दै गयो, संचालकहरू पनि धेरै भयौं । दिनरात नभनेर काम गर्नुपरेको थियो । कोट, झोला, प्यान्ट, टोपी, सर्ट, पर्स लगायतका सामग्री बनाउनमै समय बित्यो ।’
उद्योग संचालक समितिमा प्रायः महिला मात्रै सदस्य रहेको उक्त उद्योग अहिले पनि संचालनमा छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट सामान्य तालिम लिएर सुरु गरेको त्यस्तै उद्योगमा हाल जिल्लाभरका सीपालु महिला उद्यमी बनेका छन् ।
माओवादी जनयुद्ध कालमा भूमिगत भएका महिलाहरू अहिले अल्लोका कपडा बुनेर जीविकोपार्जन गरिरहेका छन्। गीताको नेतृत्वमा संचालित उद्योगमा प्रायः माओवादी जनयुद्धका पूर्व लडाकुहरू नै छन्।
शान्ति प्रक्रियापछि झन् अल्लो उद्योग स्थापना गर्ने र सीप विकास गर्ने मौका पाएको अधिकांशको अनुभव छ । माओवादी जनयुद्धकै बेला पार्टीले संचालन गरेका साना उद्योग र व्यवसायमा काम गरेकाहरूले नै शान्ति प्रक्रियापछि उद्यम थालेका हुन्।
साना ठूला गरेर उल्लो उद्योगहरूमा कम्तीमा ५० हजार देखि २० लाखसम्मको लगानी छ । रोल्पामा अल्लो उद्योग सामूहिक र व्यक्तिगत रुपमा संचालित छन् । एक तथ्याङ्कका अनुसार जिल्लामा उत्पादन भएको करिब १२ हजार टन क्वीन्टल भाङ्गो र २ हजार २ सय क्वीन्टल पुवाबाट जिल्लामै सामान उत्पादन गर्न पाए धेरैका लागि रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ ।
चल्तीका अल्लो उद्योगहरूमा रोल्पा सामुदायिक अल्लो धागो तथा कपडा उद्योग लिबाङ, लिवन अल्लो धागो उद्योग होमा, नवदुर्गा अल्लो धागो उद्योग इरिबाङ, फुलबारी हाते कागज तथा अल्लो धागो उद्योग मिरुल टुटु लगायत हुन् । यी उद्योगमध्ये कतिपयले धागो तथा कपडा उत्पादन गर्दै आएका छन् भने कतिपयले धागो मात्रै उत्पादन गर्छन् ।
घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा संचालित उद्योगमा करिब ६० लाख बराबारको लगानी छ । अल्लोको धागोबाट कपडा बुन्ने तान वितरण गरेपछि उद्योगहरूको संख्या र स्तर वृद्धि भएको हो । घरेलुले यसरी सामान वितरण गर्दा कम्तीमा ६० प्रतिशत बजेट छुटमा उद्यमीलाई तान लगायतका सामान उपलब्ध गराउँछ ।
लेकाली सिस्नोको नामले चिनिने अल्लोको विरुवालाई रोल्पामा पुवा पनि भन्ने चलन छ । स्थानीय मगर खाम भाषामा पनि पुवाको नामले अल्लोलाई बुझिन्छ । १ हजार ५ सय भन्दा माथिल्लो भूभागमा उम्रने अल्लोको खेती गर्ने चलन पनि सुरु भएको छ । परम्परादेखि नै वन जंगलमा प्रशस्त पाइने भएकाले अल्लोको खेती गर्ने चलन थिएन । तर यसको प्रयोग बढ्न थालेपछि खेती गर्न थालिएको हो ।
अल्लोबाट व्यावसायिक रुपमा उद्योग संचालन गर्दा आवश्यक कदार्थका रुपमा अल्लो बढी प्रयोग र फाइदा हुने भएकाले यसप्रति चासो वृद्धि भएको हो । पछिल्लो पटक अल्लोको माग स्थानीय बजारमा मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि बढेको छ ।
‘अल्लोको माग निकै भएपछि हामीहरू यसको संकलन र बिक्री वितरणमा लागेका हौं ।’ लिबाङमा अल्लो धागो खरिद गर्दै आएका थबाङकी रामपुरा रोकामगर भन्छिन्, ‘हामीले नै अल्लोको धागोलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँछौं ।’ उनी र उनकी जुम्ल्याहा दिदीबहिनी मिलेर लामो समयदेखि व्यापार गर्दै आएका छन् ।
रोल्पामा सस्तोमा पाइने त्यही अल्लोको कपडा राजधानी पुग्दा महङ्गोमा बेचविखन हुन्छ । राजधानीको नेपालटारमा रहेको अल्लो प्रशोधन उद्योगमा पुर्याइएपछि अल्लोको असली धागो र त्यसबाट बनेको कपडा ठमेल हुदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने व्यवसायीहरू बताउँछन्। जुम्लेनी दिदी बहिनीमध्ये जेठी जुनपुरा रोका भन्छिन्, ‘यसबाट राम्रो रोजगार मात्र होइन, परिचय पनि बनेको छ।’
अविवाहित दिदीबहिनीले यसैको व्यापारबाट लिबाङमा सात तलाको घर पनि बनाएका छन् । जुम्लेनी दिदीबहिनीहरूले मात्रै वार्षिक रुपमा ६० लाख जतिको कारोबार गर्छन् ।
रोल्पामा अल्लोको कपडाको मूल्य निम्नतम १ हजार २ सय प्रति मिटर छ । यस हिसाबले अल्लोबाट बनेको एउटा पुरुष कोटका लागि कपडा किन्न ४ हजार २ सय रुपैयाँ चाहिन्छ। अल्लोबाट बुनेका झोलालाई ३ सय २५, टोपीलाई ३ सय, महिलाको बर्कोलाई ५ सय ५०, गलबन्दीलाई ५ सय रुपैयाँ पर्छ। घरेलु तथा साना उद्योग कार्यालयले बर्सेनि जिल्लाबाट अल्लोको धागो तथा कपडामात्रै करिब ४ करोड बराबरको बाहिरिने तथ्यांक भएको जनाएको छ।
उत्पादन भने करिब १५ करोड बराबरको हुने अनुमान छ । अल्लो निर्यात हुने तीन नाकामध्ये पूर्वको सुलिचौर, दक्षिणको होलेरी र पश्चिमको निगालपानी क्षेत्र हुन्। निर्यात क्रम ५० प्रतिशत सुलिचौरबाट, ३० प्रतिशत होलेरीबाट र २० प्रतिशत निगालपानीबाट हुने गर्छ। अल्लोसँगै अन्य प्राकृतिक धागोहरू भीमल, केरा, केतुकी र पटुवाको धागो पनि उत्पादन र बिक्री वितरण बढेको छ।
