होटेल पौवामा सोमबारदेखि ‘स्वाद उत्सव’ हुने

चैत्र २४, २०८१

सन्जु पौडेल

'Swad Utsav' will be held at Hotel Pauwa from Monday

तिलोत्तमा — नेपाली स्वाद र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले होटेल पौवाले सोमबारदेखि ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । होटेल पौवाले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर सोमबादेखि ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

होटेल पौवाका सबै शाखामा यही चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजना हुने ‘स्वाद उत्सव’मा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने आयोजकले जनाएको छ । उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको होटेल पौवाका अध्यक्ष दुर्गा भण्डारीले बताए । उनका अनुसार उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुना समक्ष पुर्‍याऊने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

सो कार्यक्रम अवधिभर होटेल पौवाको कुनै पनि शाखामा गएर विभिन्न परिवारको स्वाद लिन सकिने व्यवास्था मिलाइएको छ । बर्सेनि विभिन्न कार्यक्रम आयोजना गरी नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई प्रवर्धन गर्दै आएको होटेल पौवाले यो पटक भने आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर देशभरका शाखामा ‘स्वाद उत्सव’ मनाउन लागिएको हो ।

नौ वर्षअघि लुम्बिनीबाट पहिलो यात्रा सुरु गरेको होटेल पौवाले मुलुकका विभिन्न शहरमा गरी १७ वटा शाखा बिस्तार गरिसकेको छ । देशका विभिन्न स्थानमा रहेका आफ्ना १७ वटै शाखामा एकै साथ सो कार्यक्रम सञ्चालन गरिने होटेल पौवाका ब्राण्ड हेड विष्णु भण्डारीले बताए । उत्सवमा सहभागी हुन सबै शाखाबाट दुई लाख स्थानीय तथा बाहृय पाहुनालाई निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै आएको पौवाले आफ्ना हरेक शाखामा नेपाली स्वाद, सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम समेत आयोजना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्रान्डिङ गर्दै हरेक शाखामा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ आफ्नो अभियानलाई अगाडि बढाइरहेको होटेल पौवाका ब्राण्ड हेड भण्डारीले बताए । उनका अनुसार आतिथ्य सेवालाई मुल मन्त्र बनाएको पौवाले संस्कार सिकाउने विश्रामस्थलका रूपमा आफ्ना सेवालाई विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ ।

ब्राण्ड हेड भण्डारीका अनुसार पौवाका सेफहरुबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्ने लक्ष्य लिइएको छ । स्वाद उत्सवमा पाहुनाले दिने प्रतिक्रियाले सेफहरुलाई थप हौसला मिल्ने र क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु रहेको उनले बताए । 

देशभरका आफ्नो १७ वटा शाखामा गरी करिब ८ सय जनाले प्रत्यक्ष रोजगारी पाएको पौवाको दाबी छ । हस्पिटालिटी क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै लगेको पौवाले सिन्धुलीको सदरमुकाममा नयाँ शाखा स्थापना गर्ने तयारी भइरहेको जनाएको छ । आगामी समयभित्रै पाल्पाको झिगामारामा पनि पौवा बनवास रिसोर्ट स्थापना गर्ने योजना अनुरुप काम भईरहेको कम्पनीले जानकारी दिएको छ । 

बाँकेको नेपालगन्जमा पाँचतारे होटेल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यस्तै, अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । नेपालगन्जको होटेलमा नेपाली हस्पिटालिटी भित्र अन्तर्राष्ट्रिय सुविधा रहने पौवाले जानकारी दिएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully