बुहारी मारेर छोरा जेलमा, १३ महिनाकी नातिनी रातभर आमा खोज्छिन्

७२ वर्षीय जसराम र ७१ वर्षीय मनरुपा अहिले तीन नातिनातिना कसरी हुर्काउने भन्ने चिन्तामा छन्

चैत्र २५, २०८१

काशीराम डाँगी

Son in jail after killing daughter-in-law, 13-month-old granddaughter spends the night looking for her mother

रोल्पा — गत फागुन १३ गते बिहान रोल्पाको त्रिवेणी गाउँपालिका जुगारको नेर्पा बजारनजिकै थुम्का गाउँमा विक्षिप्त पार्ने खालको घटना भयो । घरभीत्रै भएकाे याे विभत्स हत्याका कारण परिवारका सदस्य विक्षिप्त छन् ।

४० वर्षीय खिमबहादुर बुढामगरले ३२ वर्षीया पत्नी अस्मिताको खुकुरीले घाँटी रेटेर हत्या गरे । ७२ वर्षिय बाबु जसराम र खिमबहादुरका १३ र ८ वर्षीय छाेरा र १३ महिनाकी छाेरीले पनि यो विभत्स हत्या देखे ।

घटना लगत्तै  खिमबहादुरलाई प्रहरीले पक्राउ गर्‍यो । घरायसी विवादका क्रममा एक्कासी खिमबहादुरले अस्मिता हत्या गरेका थिए । प्रहरीसँगको बयानमा पनि उनले जानी जानी हत्या गरेको स्वीकारेका छन् । 

कामका शिलशिलामा भारत–नेपाल आउजाउ गर्दै आएका खिमबहादुर पछिल्लो केही समययता अस्मितामाथी शंका गर्ने, नानाथरी अपशब्दहरु बोल्ने र झगडा गर्थे । हत्याको अघिल्लो राति पनि उनले अस्मितासँग झगडा गरेका थिए ।

जसरामले यो कुरा थाह पाए पनि सधैं जसो होला भनेर वास्ता गरेनन् । तर त्यो झगडा हत्यासम्म पुग्ला भन्ने कल्पनासम्म नगरेका उनी अहिले बृद्धअवस्थामा नातिनातिना कसरी हुर्काउने भन्ने अन्योलमा छन् । 

घरखर्चका लागि यताउता काम गरी केही जोहो गर्ने बुहारीको ज्यान छोराले लियो । त्यहि छोरा अहिले हत्या अभियोगमा प्रहरी हिरासतमा छन् । ‘अब हामी बुढाबुढी काम गर्न सक्दैनौं । यी साना नाती नातिनालाई कसरी पाल्नु, के ले पठाउनु’, खिमबहादुरका बुबा जसरामले भने । ७२ वर्षीय जसराम र ७१ वर्षीय मनरुपा दम्पति अहिले तीन नातीनातीना कसरी हुर्काउने भन्ने चिन्तामा छन् ।

एक त घरमा त्यति ठूलो अपराधकाे घटना भयाे । त्यसैमाथि कमाउने कोही नभएपछि अहिले जसरामलाई बिहानबेलुकाको माड कसरी जुटाउने भन्ने तनाव छ । आफ्नै अगाडि आमाको घाँटी रेटेर बाबुले हत्या गरेको देखेकी खिमबहादुरकी १३ महिनाकी छोरी मुना राति आमा खोज्दै रुन्छिन् । दूध खाने उमेरकी नातिनीले राति आमा खोज्दै रुँदा हजुरआमा मनरुपाको छाति चिरिन्छ । 

अस्मिताले गाउँघरमा काम गरेको पैसाले अलिअलि घरखर्च जोहो भए पनि ठूलो रकमका लागि खिमबहादुर भारतमै जान्थे । अघिल्लो वर्ष पनि उनी कामका लागि दिल्ली पुगेका थिए । त्यहाँ एक साहुको भैंसी फार्ममा काम गरे पनि भनेजस्तो कमाई नहुँदा श्रीमती अस्मिताले नै पैसा पठाइदिएर फर्किएका थिए उनी । 

बेलामौकामा श्रीमान्–श्रीमतीबीच झगडा हुने गरे पनि अवस्था हत्या गर्नेसम्मको पुग्ला भन्ने आफूहरुले नसोचेको छिमेकी खिमराज पुन बताउँछन् । उनी भन्छन्, ‘बाहिरबाट देख्दा परिवार राम्रै चलेको देखिन्थ्यो । परिवारमा कहिलेकसो ठाकठुक त भइहाल्छ नै । तर त्यो दिन जुन घटना भयो त्यसले हामी पनि अचम्मित छौं ।’ जसराम पनि याे घटनापछि विक्षिप्त छन । उनले भने, ‘सधैं झै के–के बोलेर छोराले अघिल्लो रातभर हल्ला मच्चाइरहेको थियो । बिहान त्यसरी श्रीमतीको हत्या गर्छ होला भन्ने सोचेकै थिएनौं ।’

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार खिमबहादुरले बयानमा आफूले जानाजान हत्या गरेको स्वीकारेका छन् । हाल उनी पुर्पक्षका लागि कारागारमा छन् । 

थुम्का गाउँ पुगेर खिमबहादुरको परिवारको अवस्था बुझेका स्थानीय समाजसेवी युवा सन्दीप थापाले घटनापछि बृद्धबृद्धा र बालबालिकाको अवस्था निकै दयनीय भएको बताए । ‘घरमा कमाउने कोही छैन, घरको आर्थिक अवस्था पनि निकै दयनीय छ । गाउँलेहरुले खाद्यान्न, आर्थिक एवं अन्य सहयोग गर्दै आएका छन्,’ उनले भने । उनका अनुसार स्थानीय क्लब, सहयोगी संस्था, आमा समूह लगायतले विचल्लीमा परेका बृद्धबृद्धा र बालबालिकाको हेरचाहमा ध्यान दिन आह्वान गरेका छन् ।

सन्दीपका अनुसार दयनीय अवस्थामा पुगेको उक्त परिवारका बृद्धबृद्धालाई आर्थिक सहायता र बालबालिकालाई पढ्न सहयोग चाहिएको छ । जुगार जावलको माथिल्लो भेगमा पर्ने थुम्का स्थानीय काउलाबोट गाउँदेखि नजिकै पर्छ । 

खिमबहादुरको परिवार केही वर्षअघि माडी र सुकीदह (गंगादेव गाउँपालिकाको सिमानामा पर्ने ओतको जबाङ) गाउँबाट बसाइँ सरेर आएको थियो । अस्मिताको माइती गाउँ रोल्पाको कुरेलीमा पर्छ भने उनीहरुबीच करिब १५ वर्षअघि जबाङमै हुँदा विवाह भएको थियो । 

घटनास्थल त्रिवेणी गाउँपालिकाको केन्द्र नेर्पा बजारदेखि दुई घण्टा पश्चिमी भेगमा पर्छ । रोल्पा सदरमुकाम लिवाङबाट भने थुम्का गाउँ करिब ६० किलोमिटर पश्चिममा पर्छ ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully