भैरहवा — निर्धारित मापदण्ड पूरा नगरी दर्ताबिनै सञ्चालनमा रहेका अटो टेम्पो तथा ई-रिक्सालाई सिद्धार्थनगर नगरपालिका क्षेत्रमा सञ्चालनमा रोक लगाइएको छ ।
नियमबिपरित बिना दर्ता संचालन हुँदै आएका अटो टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित रुपले संचालन गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले नगरको विभिन्न स्थानका सडकमा दैनिक चेकजाँच गरी संचालनमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले मापदण्ड पूरा नगरी दर्ता प्रक्रियामा नआएका अटो टेम्पो तथा ई–रिक्सालाई सिद्धार्थनगर क्षेत्रमा संचालनका लागि गत चैत ११ देखि पूर्णरुपमा रोक लगाइएको जानकारी दिए।
सबै अटो टेम्पो तथा ई–रिक्सालाई कानूनी प्रक्रियामा ल्याइ व्यवस्थित गर्न दैनिक नगर प्रहरीको परिचालन गरी विभिन्न स्थानका सडकमा आकस्मिक चेकजाँच गरी जरिवाना गर्ने गरिएको उनले बताए ।
थापाका अनुसार, चैत ११ यता ३५ वटा अटो टेम्पो तथा ई–रिक्सा कारबाहीमा परेका छन् । पहिलो पटकलाई प्रति अटो टेम्पो तथा ई–रिक्सालाई ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । नगरपालिकासंग जोडिएका मायादेवी, ओमसतिया, सियारी र रोहिणी गाउपालिकासंगपनि समन्वय गरी अटो टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित रुपले संचालन गर्न सबै पालिकाले मापदण्ड तयार पारी दर्ता नभएकालाई चैत १० गते भित्र दर्ता गर्ने मौका दिइएको थियो ।
बेलहिया–सुनौली सिमानाका, बसपार्क, बुद्ध जन्मस्थल लुम्बिनी, विमानस्थल, रुपन्देही जिल्लाको सदरमुकाम लगायत्का कारण सिद्धार्थनगर क्षेत्रमा अत्याधिक यात्रुको आवतजावत हुने भएकाले अटो टेम्पो तथा ई–रिक्साको संख्यापनि अत्याधिक छ । सिद्धार्थनगर क्षेत्रकामात्र नभएर अन्य विभिन्न पालिकामा वसोवास गर्ने व्यवसायी र भारतीय नगरिकले समेत नेपालमा आएर यो व्यवसाय संचालन गर्ने गर्छन् ।
‘मापदण्ड पूरा नगरी र दर्ता समेत नगरी अटो टेम्पो तथा इ–रिक्साबाट कुनै दुर्घटना, ठगी तथा गैरकानुनी कार्य भएमा उनीहरूको पहिचान नै हुन नसक्ने अवस्था रहेकाले सञ्चाचनमा रोक लगाउनुपरेको हो,' प्रमुख प्रशासकिय अधिकृत थापाले भने, ‘यात्रुबाट अत्याधिक भाडा असुलेको, अन्य ठगी गरेको र गैरकानुनी क्रियाकलाप हुने गरेको गुनासो आइरहेको छ।'
दर्ताकालागि सम्बन्धित सवारी साधनको ब्लु बुक, सवारीचालक अनुमतिपत्र, बिमा र रुट इजाजतलाई अनिवार्य गरिएको छ ।
