नसर्ने रोगको अवस्था जटिल बन्दै

चैत्र २३, २०८१

मनोज पौडेल

The situation of non-communicable diseases is becoming complicated

कपिलवस्तु — जिल्लामा सर्नेभन्दा नसर्ने रोगको अवस्था जटिल बन्दै गइरहेकाले यसबाट बच्न संचारकर्मीर्ले ग्रामीण क्षेत्रमा सचेतना गर्नु पर्नेमा जोड दिइएको छ । 

स्वास्थ्य कार्यालयको आयोजनामा संचारकर्मीका लागि शनिबार आयोजित सचेतनामूलक कार्यक्रममा संचारमाध्यम नै सचेतनाका संवाहक भएकाले सबैले आ-आफनो क्षेत्रबाट कलम चलाउनु पर्ने जोड दिइएको थियो । कपिलवस्तुमा नसर्ने रोगका रुपमा रहेको मुटु, श्वासप्रश्वास र क्यान्सरबाट सचेतना अभावमा बर्सेनि धेरै जनाको मृत्यु भइरहेकाले बेलैमा सचेतना अपनाउन पर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए ।

सन् १९९० मा क्षयरोगका कारण सबैभन्दा बढी मृत्यु हुने गरेको भए पनि सन् २०१९ को तथ्यांकले सबैभन्दा बढी नसर्ने रोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक रत्नलाल शर्माले बताए । नसर्ने रोगहरुमध्ये सबैभन्दा बढी मुटुरोग, क्यान्सर, श्वासप्रश्वासको दमजन्य संक्रमण, क्षयरोग र मधुमेहका कारण धेरै बिरामीको मृत्यु हुन थालेको उनले बताए । 

नसर्ने संक्रमणको जोखिम कम गर्न मदिराजन्य पदार्थ सेवन रोक्नु पर्ने, शारीरिक व्यायामलाई प्राथमिकता दिनु पर्ने, नुन र चिनीको सेवन घटाउनु पर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने र तरकारी तथा फलफुलजन्य खानाको प्रयोगमा ध्यान पुर्‍याउनु पर्ने शर्माले बताए । नसर्ने रोग लाग्न नदिनका लागि जीवनशैली, आहार र व्यायाममा सुधार गर्नुपर्ने उनले बताए । नसर्ने रोगका मुख्य कारण खानपान र जीवनशैली नै भएको बताइन्छ । 

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ मा एउटा विस्तृत तथा देशव्यापी अध्ययन गरको थियो । त्यसको अर्को वर्ष प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ । मृत्युको कारणमध्ये ७१ प्रतिशत नसर्ने रोग र झन्डै ८ प्रतिशत सवारी दुर्घटना देखिएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए । 

कार्यक्रममा ४ महिला संचारकर्मीसहित २७ संचारकर्मीको सहभागिता थियो । 

मनोज पौडेल

Link copied successfully