दाउन्नेमा १४ घण्टापछि एकतर्फी यातायात सञ्चालन

चैत्र २३, २०८१

नारायण शर्मा

One-way traffic operation after 14 hours in Downey

नवलपरासी — शुक्रबार साँझदेखि अवरुद्ध रहेको दाउन्ने सडक खण्ड शनिबार बिहान १४ घण्टापछि एकतर्फी सञ्चालन भएको छ ।

‘दाउन्नेमा निकै लामो जाम छ, हामी जिल्ला प्रहरी प्रमुखसहित अहिले दाउन्नेमा जाँदै छौं,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख जनक बन्जाराले भने, ‘किन जाम हुन्न भन्ने बारेमा स्थलगत निरीक्षण गर्ने छौं ।’

देशकै लाइफलाइन सडक मानिने महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ ।

उनले अहिले बिहान त्यता जान लागेको सुनाए । राजमार्ग फराकिलो पार्ने क्रममा दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक खण्डमा १ सय ३ वटा कल्भर्ड, पुल निर्माणाधीन अवस्थामा छन् । कल्भर्ट र पुल निर्माण भइरहेको स्थानमा खनिएका ठूल्ठूला खाल्डाका कारण दिनहुँ जाम हुने गरेको छ । 

भरतपुरबाट बसमा भारतको दिल्लीतर्फ हिँडेका सितल शर्माले शुक्रबार साँझ ५ बजेबाट दाउन्नेमा जाममा परेर बिहान ७ बजे बर्दघाट पुगेको टेलिफोनमा जानकारी दिए । रातभर सैयौं गाडी र हजारौं यात्रु दाउन्नेको धुलाम्य सडकमा विचल्लीमा परेको उनको भनाइ छ । 

महेन्द्रराजमार्गको दुम्कीवास बर्दघाटबीचमा पर्ने दाउन्ने खण्ड १४ किलोमिटर क्षेत्र पर्दछ । उक्त राजमार्ग हुँदै दैनिक १८ हजार गाडी ओहोरदोहोर गर्छन् । त्यो खण्डमा धुलाम्य सडक छ । धुलो नियन्त्रणका लागि पानी हाल्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङले पानी हाल्ने गरेको छैन ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully