मथुरा गोपेश्वर पीठ पवित्रस्थल : मुख्यमन्त्री आचार्य

चैत्र २३, २०८१

वीरेन्द्र केसी

Mathura Gopeshwar Peeth Holy Place: Chief Minister Acharya

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका–५ वाङलास्थित मथुराधाम गोपेश्वर पीठ पवित्र धार्मिक तीर्थस्थल भएको बताएका छन्। उनले यसलाई देशकै पवित्र स्थलको रूपमा विकास गर्दै अगाडि बढाइने उल्लेख गरे।

मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्भागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्त्वका रूपमा हेर्नुपर्ने बताए।

'यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न चरणमा सरकारको तर्फबाट सहयोग हुँदै आएको छ। चालू आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेटले सम्बोधन गरेको छ,' उनले भने, 'यहाँ पानीको समस्या थियो, त्यसलाई हल गर्न खानेपानीको काम अघि बढेको छ। यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्र नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ।'

जंगबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरिरहेको उनले बताए। भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको पनि उनको भनाइ छ।

भक्तजनको अभिलाषा र चाहनाअनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने उल्लेख गर्दै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत सरकारले विशेष ध्यान दिने स्पष्ट पारे।

वीरेन्द्र केसी

Link copied successfully