गाउँपालिका अध्यक्षमाथि हातपात 

चैत्र २३, २०८१

नारायण शर्मा

Assault on village head

नवलपरासी — नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीलाई स्थानीय एक युवकले आक्रमण गरेका छन् ।

शुक्रबार बिहान गाउँपालिकाको कार्यालय परिसरमा गाडीबाट झरेका अध्यक्ष गिरीलाई स्थानीय सुदीप आचार्यले आक्रमण गरेर फरार रहेको प्रहरीले जनाएको छ । 

आचार्य बिनयी त्रिवेणी गाउँपालिकामा एमाले निकट युवासंघका अध्यक्ष हुन् । गाउँपालिका अध्यक्ष कार्यालयमा झर्ने बित्तिकै हेल्मेट लिएर बसेका युवासंघका अध्यक्ष आचार्यले आक्रमण गरेको जानकारी पाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले हातपात गरेर फरार भएका आचार्यको खोजी भइरहेको बताए । सबै प्रहरी युनिटलाई खबर गरेर आचार्यलाई समात्न आदेश दिएको नेपालले जानकारी दिए ।

‘के कारणले म माथि आक्रमण भयो थाहा छैन । अब प्रहरीले अनुसन्धान गरेपछि थाहा होला’ गाउँपालिका अध्यक्ष गिरीले भने । 

अध्यक्ष गिरीले आक्रमणबारे आफूलाई जानकारी नभएको बताए पनि स्थानीयका अनुसार ठेक्कापटटामा कुरा नमिलेको भन्दै हातपात गरेका हुन् । गाउँपालिका अध्यक्ष गिरी पनि एमालेबाट निर्वाचित भएका हुन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully