विद्युत्‌को तार सर्ट हुँदा गोठसहित ७ सय कुखुरा जलेर नष्ट

चैत्र २३, २०८१

सन्तोष महतारा

700 chickens were burnt down along with the barn when the electric wire was shorted

गुल्मी — गुल्मीमा विद्युत्‌को तार सर्ट भई आगलागी हुँदा दुई तले कच्ची गोठसहित ७ सय कुखुरा जलेर नष्ट भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका डिलाराम अर्यालको टिनको छानो भएको उक्त गोठमा अचानक शनिबार राति साढे १२ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

प्रहरीका अनुसार ७ सय लेयर्स कुखुरासहित ढुङ्गामाटोले बनेको टिनको छानो भएको कच्ची गोठ, गोठमा राखिका दाना, धान र मकै जलेर पूर्ण रुपमा नष्ट भएका छन् । 

आगलागीपछि प्रहरी त्यस स्थानमा खटिएको थियो । आगो डेढ घण्टापछि पौने दुई बजेको समयमा नियन्त्रणमा आएको थियो । समग्रमा भएको आर्थिक क्षतिको विवरण भने अझै प्रहरीसँग नआएको सूचना अधिकारी सारुले बताए ।

700 chickens were burnt down along with the barn when the electric wire was shorted

आगलागी पीडित डिलाराम अर्यालका छोरा कमल अर्यालले सबै गरी करिब १५ लाख रुपैयाँ भन्दाबढी क्षति भएको दाबी गरे । अण्डा दिन तयार रहेका सात सय लेयर्स कुखुरा सबै जलेर पूर्ण रुपमा नष्ट भएको अर्यालले बताए । 

अहिले जलेको गोठ यसअघि घरकै रुपमा रहेको तर अहिले नयाँ अर्को बनाएर सरेकोमा समान सबै पुरानैमा रहेकोले सबै जलेर नष्ट भएको उनले गुनासो गरे ।

सन्तोष महतारा

Link copied successfully