पाल्पाको रिमिघा लेकमा ३ दिनदेखि डढेलो, अझै नियन्त्रणमा आएन

चैत्र २२, २०८१

माधव अर्याल

The fire in Palpa's Rimigha Lake has been burning for 3 days, still not under control

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने रिमिघा डाँडाको जंगलमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । रम्भा गाउँपालिका–३, पिपलडाँडाको गरुङ्गादेखि रिमिघा जाने बाटोमा विद्युत् लाईन सट भएर सुरु भएको डढेलो हावा र भीर पाखा भएकाले नियन्त्रण्मा आउन नसकेको हो ।

झरेक वन नजिकै रिमिघा लेकमा विस्तार गरिएको विद्युत् लाइन सट भई तीन दिनअघि डढेलो लागेको वनरक्षक शिव थापाले जानकारी दिए । स्थानीयका अनुसार गरुङ्गा र कुवादी गाउँका बासिन्दाले डढेलो नियन्त्रण लिन प्रयास गरेका थिए । बस्तीतर्फ आउन नदिएको तर जंगलमा पुगेर निभाउन समस्या भएको वनरक्षक थापाले बताए । स्थानीयका साथै वन कर्मचारीले निभाउने प्रयास गरे पनि नियन्त्रण आउन सकेको छैन । 

रिमिघा जंगल ऐतिहासिक एवम् प्राकृतिक पर्यटकीय क्षेत्र रिमिघा लेक पूरै सखाप हुने अवस्थामा पुगेको छ । डढेलोले प्राकृतिक जडिबुटी, जीवजन्तु र चराचुरुङ्गीको नास भएको छ ।

डढेलो नियन्त्रण गर्न ठूलो जंगल र भीरपाखा भएकाले समस्या आएको वडाध्यक्ष चेतबहादुर सुनारीले जानकारी दिए । बस्तीतिर आउन लागेको डढेलो नियन्त्रणमा आएको उनले बताए ।

डढेलो लागेको जंगल क्षेत्रमा फोक्सिङकोट फोक्सिङडाँडा र पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वनका गरी १ सय ५० हेक्टर बढी पर्छ ।  

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully