अर्घाखाँची — शितगंगा नगरपालिका–९ मा तीन ठाउँमा वडा कार्यालय छन् । एक सय १८ वर्ग किमीमा फैलिएको सिद्धारामा भौगोलिक जटिलताका कारण सेवाग्राहीको सहजताको लागि करमगैरा, लौरी र भक्काचौरमा वडा कार्यालय स्थापना गरिएको हो ।
सुरुमा वडा कार्यालय करमगैरामा राखिएको थियो । वडाभित्रका अन्य गाउँका सेवाग्राहीलाई करमगैरा आउन पैदल हिँडेर ६/७ घण्टा समय लाग्थ्यो । दुर्गम र जंगलभित्रका छरिएका सबै बस्तीमा मोटर सुविधा छैन । सेवाग्राहीको सहजताका लागि थप दुई ठाउँमा कार्यालय खोलिएको वडाध्यक्ष भीम केसीले बताए ।
करमगैरा र लौरीमा वडा कार्यालय भवन बनेका छन् । भक्कुचौरमा मासिक दुई हजार भाडा तिर्नेगरी कार्यालय राखिएको छ । तीनवटै ठाउँमा कार्यालय सहयोगी राखिएको छ । भक्काचौरमा विमल परियार, करमगैरामा शिमा घर्ती र लौरीमा प्रशु गाहाले गाउँका सेवाग्राहीको फाइल संकलन गरेर राख्छन् ।
‘जहाँ बढी जरुरी छ, त्यहाँ पुग्छौं,’ केसीले भने, ‘सेवाग्रहीका माग सहितका फाइल, निवेदन संकलन गरेर सातामा सचिव र म तीन ठाउँमा पुगेर सेवा दिन्छौं । छ/सात घण्टा सेवाग्राहीलाई पैदल हिँडाउनुभन्दा हामी आफैं दौडिएर काम गरेका छौं ।’
पुरानो संरचनाको सिद्धारा गाविस नयाँ संरचनामा शितगंगा नगरपालिकाको वडा ९, १० र ११ मा विभाजित छ । वडा ९ साविक सिद्धारा गाविसको वडा १, ७ र ८ मिली बनेको हो । हाल ५ सय ७२ घरधुरी संख्याका ३ हजार ८२ जनसंख्या रहेको छ । सिंगो सिद्धारा दुर्गम बस्ती हो । नयाँ संरचनामा तीनवटा वडा बनाइए पनि वडा ९ लाई थप दुईवटा वडा बनाउनुपर्ने आवश्यक्ता रहेको केसीले बताए ।
उनले भने, ‘एक गाउँबाट अर्को गाउँमा पुग्नै छ/सात घण्टा पैदल हिँडनुपर्ने बाध्यता छ । सबै टोलबस्तीमा मोटर सुविधा छैन, सार्वजनिक सवारी त्यति धेरै चल्दैनन् र सबैका घरमा गाडी सुविधा पनि नभएकाले पैदल हिँड्नुपर्ने बाध्यता छ ।’
अहिले तीन ठाउँमा वडा कार्यालय करिब १५/२० किमीको दूरीमा रहेका छन् । एक वडा कार्यालयबाट अर्कोमा पुग्न पनि समस्या रहेको वडा सचिव खगेन्द्र सिरुवाले बताए । ‘बीचमा जंगलको बाटो हिँड्दा भालु लगायत जंगली जनावरको डर हुन्छ,’ उनले भने, ‘मोटरसाइकल बिग्रेका बेला त आपत पर्छ । सबै ठाउँमा फोन पनि लाग्दैन । प्यूठानको सरुमारानी गाउँपालिकाको भूगोल हुँदै आउजाउ गर्नुपर्छ ।’
