पत्रकार हत्याको विरोधमा महासंघ बाँकेद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चैत्र २०, २०८१

रुपा गहतराज

Memorandum to the Prime Minister by Federation Banke against the killing of journalists

नेपालगन्ज — राजावादी समूहको प्रदर्शनका क्रममा सञ्चारकर्मी तथा सञ्चार गृहमा भएको आक्रमण गर्ने सबैलाई कानुनी दायरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचार गर्न नेपाल पत्रकार महासंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारको हत्या र सञ्चारगृहमाथिको आक्रमणको निन्दा गर्दै स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई मंगलबार ज्ञापनपत्र बुझाएको हो । 

महासंघका जिल्ला अध्यक्ष नवीन गिरीको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर पत्रकारको टोलीले पत्रकार सुरेश रजकको हत्यारालाई तत्काल पहिचान गरी पक्राउ गर्न पनि आग्रह गरेको छ ।

काठमाडौंमा गएको चैत १५ गते राजावादीहरुको आन्दोलनको क्रममा रिपोर्टिङमा खटिएका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको आगलागीमा परी मृत्यु भएको थियो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष गिरीले रिपोर्टिङमा खटिएका पत्रकारको हत्या गरिएको उल्लेख गर्दै तत्काल दोषी पत्ता लगाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै बाकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गिरीले पत्रकारहरु ढुक्क भएर रिपोर्टिङमा खटिन सक्ने अवस्था नरहेको भन्दै राज्य पत्रकारको सुरक्षाका लागि गम्भीर बन्नुपर्ने बताए । आन्दोलनको नाममा पत्रकारको हत्या गर्ने, पत्रकारहरुलाई आक्रमण गर्ने र सञ्चारगृहमाथि तोडफोड तथा आगजनी गर्ने कार्य अपराधिक गतिविधि भएको उल्लेख गर्दै राज्यले दोषीलाई कारबाही, मृतकलाई राहत र घाइतेलाई उपचार नगरे चरणबद्ध कडा आन्दोलन गर्ने गिरीले चेतावनी दिए ।

मागहरु ७ दिनभित्र पूरा गर्न पत्रकार महासंघले अल्टिमेटम दिएको छ । ज्ञापनपत्र बुझिसकेपछि सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले उक्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाइने प्रतिबद्धता जनाए ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully