विपद्‌बाट १० महिनामा लुम्बिनीमा २ सय ९८ को मृत्यु, १८ बेपत्ता

पाल्पाको रानीमहलको नदी कटान रोक्न बजेट छुट्याउने विपद व्यवस्थापन परिषद्‌को निर्णय

चैत्र २०, २०८१

घनश्याम गौतम

298 dead, 18 missing in Lumbini in 10 months due to disaster

बुटवल — लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा २ सय ९८ जनाको मृत्यु भएको छ । १८ जना अझै बेपत्ता छन् । ६ सय ४१ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदका अनुसार चालू आवमा १ हजार ७ सय ५२ विपद्का घटना भएका छन् । ति घटनामा २ सय ९८ जनाले ज्यान गुमाएका हुन् । गत आवको तुलनामा चालु आवमा मानवीय क्षतिका घटना पनि बढेका छन् । 

गतवर्ष १ हजार १ सय २० घटना भएका थिए । जसमा ७६ जनाको मृत्यु भएको थियो । १ सय ९६ जना घाइते भएका थिए । त्यस्तै चालु आव २०८१/८२ मा राहत र पुनर्निर्माणका लागि १ करोड २१ लाख २२ हजार रुपैयाँ वितरण गरिएको छ । 

राहतका लागि १ करोड ६ लाख ३७ हजार रुपैयाँ र पुनर्निर्माणका लागि १४ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको परिषद्ले जनाएको छ ।

परिषद्को अध्यक्षमा मुख्यमन्त्री चेतनारायण आचार्य छन् । उनको अध्यक्षतामा मंगलबार बसेको बैठकले पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य रानीमहलको नदी कटान रोक्न बजेट छुट्याउने निर्णय गरेको छ । त्यस्तै तानसेनको सुकुम्बासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिँचाइको काम अघि बढाउन पनि बजेट छुट्याउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले बताए ।

बैठकमा विपद् राहतलाई बीमासँग जोड्ने र सीप तथा उत्पादनसँग सम्बन्धित बनाउने योजना अघि सारिएको छ । मुख्यमन्त्री आचार्यले प्रभावकारी विपद् व्यवस्थापनका लागि विपद् पूर्व, विपद् भएको अवस्था र विपद् पश्चातको अवस्थालाई ध्यानमा राखेर प्रभावकारी काम गर्न निर्देशन पनि दिएका छन् ।

‘विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँदै क्षति न्यूनीकरणमा सबैको ध्यान जान जरुरी छ,’ उनले भने, ‘विपदमा सडक अवरुद्ध नहुने व्यवस्था गर्नुपर्छ । अवरुद्ध भएको खण्डमा तत्काल सुचारू गर्न, तत्काल राहत वितरणका लागि जिल्ला तहबाट आउने सिफारिस छिटो आउने वातावरण बनाउनुपर्छ ।’

बैठकमा लुम्बिनी प्रदेश बहुप्रकोपको जोखिममा रहेको, प्राकृतिक रूपमा भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी, अतिवृष्टिको जोखिम बढ्दै गएको विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले रिपोटिङ गरेका थिए ।

गैरप्राकृतिक रूपमा महामारी, आगलागी, जल दुर्घटना, सडक तथा औद्योगिक दुर्घटनाको जोखिम पनि बढ्दो छ । प्रमुख जिल्ला अधिकारीहरूले विपद् पूर्व तयारीको बारेमा बैठकमा जानकारी गराएका थिए । 

बैठकमा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्य इन्द्रजीत थारु, प्रमुख सचिव बाबुराम अधिकारी लगायतले विपदको विषयमा देखिएका समस्या प्रस्तुत गर्दै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन समुदाय, सुरक्षा निकाय र सरकारकोबीचमा सहकार्यमा जोड दिएका थिए । 

बैठकको सहजीकरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेले गरेका थिए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully