विपद्‍को क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रतिकार्य : मुख्यमन्त्री आचार्य

चैत्र १९, २०८१

दुर्गालाल केसी

Effective response to reduce disaster damage: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक मंगलबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल गरिएको छ ।

लुम्बिनी प्रदेश बहुप्रकोपको जोखिममा रहेको छ । प्राकृतिक रूपमा भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी, अतिवृष्टिको जोखिम छ । गैरप्राकृतिक रूपमा महामारी, आगलागी, जल दुर्घटना, सडक तथा औद्योगिक दुर्घटनाको जोखिम रहेको छ । 

मुख्यमन्त्री आचार्यले प्रभावकारी विपद् व्यवस्थापनका लागि विपद् पूर्व, विपद् भएको अवस्था र विपद्पश्चातको अवस्थालाई ध्यानमा राखेर प्रभावकारी काम अघि बढेको बताए ।

बैठकले पाल्पाको पर्यटकीय गन्तव्य रानीमहलको नदी कटान संरक्षण, तानसेनको सुकुम्बासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिंचाइको काम अघि बढाउन बजेट छुट्याउने निर्णय गरेको छ ।

अहिलेसम्मको विवरण अनुसार चालू आर्थिक वर्ष २०८१ मा जम्मा १ हजार ७ सय ५२ विपद् घटना भएका छन् । जसमा २ सय ९८ जनाको मृत्यु भएको छ । ६ सय ४१ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन् ।

२०८० सालको तुलनामा २०८१ मा मानवीय क्षति बढी भएको छ । गत वर्ष १ हजार २सय २० घटना भएका थिए । ७६ जनाको मृत्यु भएको थियो । १सय ९६ जना घाइते भएका थिए । 

यस्तै चालू आर्थिक वर्ष २०८१/८२ मा राहत र पुनर्निर्माणका लागि १ करोड २१ लाख २२ हजार रुपैयाँ वितरण गरिएको छ । राहतका लागि १ करोड ६ लाख ३७ हजार रुपैयाँ र पुनर्निर्माणका लागि १४ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको छ । विपद् राहतलाई बीमासँग जोड्ने र सीप तथा उत्पादनसँग सम्बन्धित बनाउने योजना अघि सारिएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूले विपद् पूर्व तयारीको बारेमा बैठकमा जानकारी गराएका थिए ।  बैठकमा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेशसभा सदस्य इन्द्रजित थारु, प्रमुख सचिव बावुराम अधिकारी लगायतले सम्बोधन गर्दै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन समुदाय, सुरक्षा निकाय र सरकारको बीचमा सहकार्यमा जोड दिए । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully