यात्रुको चाप भइरहने रेसुंगा विमानस्थल पुनः सञ्चालनमा

वायुसेवा निगमसँग भएका दुईवटा ट्विनअटर विमान ग्राउन्डेड भएपछि सेवा बन्द भएको थियो

चैत्र १८, २०८१

गगनशिला खड्का

Resunga Airport, which is busy with passengers, is back in operation

गुल्मी — नेपाल वायु सेवा निगमको तथ्यांकमा देशमै धेरै यात्रुको चाप रहेको गुल्मीको रेसुंगा विमानस्थल बन्द भएको तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । 

यहाँ उडान भर्दै आएको नेपाल वायुसेवा निगमसँग भएका दुईवटा ट्विनअटर विमान ग्राउन्डेड भएपछि हवाई सेवा बन्द भएको थियो ।

यहाँ सातामा ४ वटासम्म उडान हुने गरेको थियो । सोमबारदेखि पुनः उडान भएको नेपाल वायुसेवा निगम रेसुंगा स्टेसन प्रमुख सुमन थापाले बताए । ‘साताको चार वटासम्म उडान हुँदा पनि प्यासेन्जर फ्लो धेरै हुने हाम्रो विमानस्थल भोजपुरपछि देशमै सबैभन्दा राम्रो मध्येको थियो,’ उनले भने, ‘केही समय डोमेस्टिक फ्लाइटका दुई ट्विनअटर इन्जिनको साइकल सकिएर ग्राउन्डेड भएपछि बन्द थियो, अब आजदेखि पुनः सुरु भयो ।’

थापाका अनुसार  १९ सिट क्षमताको विमान सधैं भरिभराउ हुने गर्छ । विमानले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौंबाट रेसुंगाका लागि ७ हजार ५ सय र रेसुंगाबाट काठमाडौंका लागि ७ हजार ३ सय भाडादर निर्धारण गरेको छ । विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले बिहानको समयमा मात्र उडान गरिँदै आएको छ । 

निर्माण सुरु भएको १६ वर्षपछि २०८० वैशाख २९ गतेबाट नियमित उडान सुरु भएको विमानस्थलमा हालसम्म ९१ वटा उडान भएका छन् । गुल्मीबाट १ हजार १ सय ६९ जना र काठमाडौंबाट १ हजार १ सय २ जना यात्रुले यात्रा गरेको विमानस्थलले जनाएको छ । सो अवधिमा करिब १ करोड ६० लाखजति आम्दानी भएको विमानस्थलका स्टेसन प्रमुख थापाले जानकारी दिए । 

विमानस्थल २०६३ सालमा शिलान्यास भएर २०७१ देखि निर्माण सुरु भई १६ वर्षपछि २०७९ पुसमा मात्र निर्माण सम्पन्न भएको थियो । कुल ३३ करोड लगतमा निर्माण भएको विमानस्थलको धावनमार्गको लम्बाइ ५ सय २० मिटर र चौडाइ २० मिटर छ ।

पहाडी जिल्ला गुल्मीबाट पाल्पा हुँदै बाहिर जिल्ला जाने एक मात्र सडक साँघुरो, प्रायः मर्मत गरिरहने र बर्खाका बेला सिद्धबाबा लगायतका स्थानमा पहिरो खस्ने भएकोले सडक यात्रा कठिन छ । त्यसैले गुल्मी तथा छिमेकी जिल्ला अर्घाखाँचीका बासिन्दासमेत रेसुंगा विमानस्थल हुँदै हवाई यात्राबाट काठमाडौं आउजाउ गर्ने गर्छन् ।

सुरुमा २०७९ पुस २४ मा तारा एयरको विमानले परीक्षण उडान गरेर नियमित उडान गर्ने भनिए पनि पछि यात्रुलाई सहज र सस्तो सेवाका लागि वायुसेवा निगमसँग सम्झौता गरी नियमित उडान गरिएको थियो ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully