सञ्चारकर्मी तथा सञ्चार गृहमा आक्रमण गर्नेलाई कानुनी कठघरामा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापन

चैत्र १८, २०८१

माधव अर्याल

A memorandum to the Prime Minister to bring those who attack media persons and media houses to justice

पाल्पा — राजावादी समूहको प्रदर्शनका क्रममा सञ्चारकर्मी तथा सञ्चार गृहमा भएको आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचार गर्न नेपाल पत्रकार महासंघ पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।

पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीमार्फत् ज्ञापनपत्र सोमबार बुझाएको हो ।

यही चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोस्टका कार्यालयमा ढुंगामुढा गरी क्षति पुर्‍याएको थियो । 

भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको छ भने हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्‍याइएको छ । पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको छ भने फोटो पत्रकार निराज तामाङको म्यामेरा हराएको लगायतका घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । साथै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully