गुलरियामा मात्रै ५३ वटा अवैध औषधि पसल

चैत्र १८, २०८१

कमल पन्थी

53 illegal drug shops in Gulria alone

बर्दिया — जिल्लामा अवैधरुपमा सञ्चालित अस्पताल, औषधि पसल र ल्याबहरूको नियमन हुन सकेको छैन। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा समेत नियामक निकायहरूको लापरबाहीले मनपरी बढ्दो छ। व्यवसायीले मापदण्ड नपुर्‍याई आफूखुसी स्वास्थ्य संस्था र औषधि पसल खोलेर चलाएका छन्।

सदरमुकाम गुलरियामा मात्रै यस्ता स्वास्थ्य संस्थाको संख्या ५३ रहेको खुलेको छ। सदरमुकाममा मात्रै स्थानीय तह र लुम्बिनी प्रदेश स्वास्थ्य विभाग दुवैबाट ईजाजत नलिई सञ्चालित ५३ वटा पोलिक्लिनिक, फार्मेसी, प्याथोलोजी लगायत निजी अस्पताल रहेको गुलरिया नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

अवैधरुपमा सञ्चालित ती संस्थाहरूलाई कारबाही भने गरिएको छैन। ईजाजत र दर्ता प्रक्रिया नगरी करोड बढी लगानीमा सञ्चालनमा आएको सीटी अस्पताल यही छ । गुलरिया नगरपालिका स्वास्थ्य कार्यालयका प्रमुख शिव कुमार चौधरीले ५८ वटा अवैधरुपमा सञ्चालन गरेकामध्ये ८ वटाको त नामसमेत छैन।

उनका अनुसार गुलरिया नगरपालिका–११ गणेशपुरमा एक भारतीय नागरिकले समेत ईजाजत नलिई क्लिनिक खोलेर सञ्चालन गरिरहेका छन्। नियमित अनुगमन नभएका कारण अवैधरुपमा औषधि पसल खोल्नेको संख्या बढ्दै गएको छ।

जिल्लाभरि नै यसरी अवैधरुपमा स्वास्थ्य संस्था सञ्चालन भएका छन्। तर नियामक निकायले अहिलेसम्म कारबाही गरेका छैनन्। न त तिनको अनुगमन गरी यकिन तथ्यांक नै निकालिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले आफू भर्खर सरुवा भएर आएकोले तथ्यांक लिने काम भइरहेको बताए। जिल्लामा रहेका नियमक निकाय र औषधि व्यवस्था विभागले चासो नदिएका कारण अवैध औषधि व्यवसायी माथि कारबाही हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन्।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully