भूमि आयोगले पूर्णता पाएसँगै कोहलपुरमा जग्गा नापजाँचको काम तीव्र

चैत्र १७, २०८१

रुपा गहतराज

With the completion of the Land Commission, the work of land surveying in Kohalpur is intensified

नेपालगन्ज — जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै बाँकेको कोहलपुरमा रोकिएका निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ । 

कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने योजनाका साथ कामलाई तीव्रता दिएको बताए । 

‘सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि बीचमा रोकियो । अहिले भूमि आयोगले पूर्णता पाएको छ । कामहरु पुनः सुरु भएका छन्,’ नगर प्रमुख आचार्यले भने, ‘निस्सा वितरण र जग्गा नापजाँचको कामलाई पूर्णता दिएलगत्तै जग्गाधनी लालपूर्जा वितरणको काम सुरु गर्ने छौं ।’

वडा नम्बर ७ का वडाध्यक्ष ठग्गा थारुले भूमिहीन समस्यालाई अब दीर्घकालीन रुपमा समाधान गर्नेगरी काम भइरहेकाले सबै वडाबासीलाई सहयोगको आग्रह गरे । उक्त वडामा ७८९ वटा निस्सा वितरण गरिने छ । निस्सा वितरणपछि जग्गा नापजाँचको काम सुरु गरिने अमिन गोविन्द केसीले बताए ।

कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये वडा नम्बर ६ बाहेक अन्य सबै वडामा निस्सा वितरण र जग्गा नापजाँचको काम करिब पूरा भइसकेको छ । कोहलपुर नगरपालिकामा ५९८ भूमिहीन दलित, ८५० भूमिहीन सुकुम्बासी तथा १६ हजार ७०० घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् ।

वडा नम्बर १ मा जग्गा नापजाँचसँगै फिल्ड बुक तयार भइ जग्गाधनी पूर्जा वितरणको अन्तिम तयारी समेत भइसकेको छ । ७ दिनको हकदाबीसम्बन्धी सूचना पूरा भएर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी १४१ जनालाई जग्गाधनी प्रमाणपत्र वितरणको अन्तिम तयारीमा रहेको पनि केसीले बताए । 

यस्तै वडा नम्बर २ मा पनि फिल्डबुक तयारी अवस्थामा छ । कोहलपुर नगरपालिका वडा नम्बर १ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १ हजार ३६५ घरधुरीको १ हजार ४६ कित्ता जग्गा नापजाँच भएको फिल्ड सहायक प्रभुमान थारुले जानकारी दिए ।

वडा नम्बर २ मा ३ हजार १०२ घरधुरीको ३ हजार ५०० कित्ता, वडा नम्बर ३ मा १ हजार ६६६ घरधुरीको २ हजार ६०० कित्ता, वडा नम्बर ४ मा ६७१ घरधुरीको १५३ कित्ता नापजाँच भएको छ ।

वडा नम्बर ५ मा ९६८ घरधुरीको १ हजार ९७ कित्ता, वडा नम्बर ८ मा ५१६ घरधुरीको ९०० कित्ता, वडा नम्बर १० मा एक हजार ५ घरधुरीको एक हजार १५० कित्ता, वडा नम्बर ११ मा एक हजार २०० घरधुरीको १ हजार १० कित्ता, वडा नम्बर १२ मा १ हजार ६६० घरधुरीको २ हजार ८०० कित्ता, वडा नम्बर १३ मा १ हजार २२५ घरधुरीको ७०० कित्ता, वडा नम्बर १४ मा ८०० घरधुरीको १ हजार ११ कित्ता र वडा नम्बर १५ मा ९५० घरधुरीको २ हजार ५०० कित्ता जग्गा नापजाँच गरिएको छ ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully