लुम्बिनी — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीबाट बुद्धको शिक्षा फैलाएर अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटनको केन्द्र बनाउन सकिने बताएकी छन् ।
लुम्बिनीमा थुक्छे छोइलिङ मोनास्ट्री गुम्बाको शुक्रबार शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको बताएकी हुन् ।
‘गौतम बुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आज झन् बढेको छ ।’
संसारका शक्तिशाली र विकसित मुलुक अझै पनि कहिलेकाहीँ हिंसा र तनावको अवस्था आउँदा नेपाल सम्झिने अवस्था बनाउनुपर्ने बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘बुद्ध शिक्षा अनुसरण गरेर शान्तिको मार्ग पहिल्याउनु पर्छ । शान्तिको प्रेरणा दिने स्थलका रुपमा लुम्बिनीलाई चिनाउनुपर्छ ।’
लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । उक्त अवसरमा गुरुमा र लामाले मंगलपाठ गरेका थिए । गुम्बाका संरक्षकले पूर्वराष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेका थिए । 
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीका गुम्बाहरुले बुद्धका उपदेश विश्वभर फैलाउन महत्त्वपूर्ण योगदान गर्नुपर्ने बताए । लुम्बिनीलाई आध्यात्मिक केन्द्रको गन्तव्य बनाएर पर्यटक भित्र्याउनु पर्ने उनले बताए । फरक प्रसंगमा उनले प्लट होल्ड गरेर राख्ने कुरालाई निरुत्साहित गर्नु पनि जरुरी रहेको सुनाए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोष सदस्य-सचिव सानुराजा शाक्य र गुम्बा अध्यक्ष छिरिङ जाङबु तामाङले मन्तव्य राखेका थिए ।
लुम्बिनी विकास गुरुयोजनाको पश्चिमी क्षेत्रमा रहेको डब्लु–१४ नम्बरको प्लटमा थुक्छे छोइलिङ मोनास्ट्रीले महायानी र हिमाली परम्परा झल्कने गरी निर्माण गर्न लागेको साढे दुई तले गुम्बा तीन वर्षभित्र पूरा हुने गरी काम थालिने गुम्बाका महासचिव बाबुराजा श्रेष्ठले बताए ।
