पाल्पा — मातृ शिशु मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान बुधबारदेखि सुरु भएको छ । अभियानको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पाल्पाबाट शुभारम्भ गरे ।
मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्ष मुनिका बालबालिकाहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए । प्रदेशका तीन जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागिएको उनले बताए । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने गर्नेको संख्या उच्च रहेको हुँदा पनि किशोरकिशोरीलाई लक्षित कार्यक्रमसमेत संचालन गरिएको उनले बताए ।
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम संचालन मार्गनिर्देशन अनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानसमेत संचालन गरिनेछ । विवरण तयार गर्न पाल्पामा ६५ हजार, अर्घाखाँचीका ४८ हजार र बँकेका ९४ हजार घरधुरीमा स्वास्थ्यकर्मी पुग्नेछन् ।
महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ । कमजोर स्वास्थ्य सुचकांक भएको बाँके, अर्घाखाँची र पाल्पाका गर्भवती महिलादेखि बच्चा जन्मेको २ वर्षसम्म नियमित निगरानीमार्फत् जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट बञ्चित बालबालिका र पोषण बृद्धि अवस्थाको अनुगमन गरिनेछ ।
नियमित सेवामा ल्याउनका लागि हरेक परिवार घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले पारिवारिक स्वास्थ्य विवशरण तयार पार्न यो पाइलटिङ् कार्यक्रमको व्यवस्था गरिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले बताए ।
कार्यक्रम अन्तर्गत स्थानीय तहमा स्वास्थ्यकर्मीलाई मोबाइल स्वास्थ्य तालिम, वडास्तरमा स्वास्थ्यकर्मीलाई मोबाइल स्वास्थ्य सम्बन्धी अभिमुखीकरण, वडाका स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले सर्वेक्षण गर्ने, घरधुरी सर्वेक्षण पश्चात् हरेक गर्भवती महिलादेखि २ वर्षमुनिका बालबालिकाहरुलाई नियमित निगरानी गरी स्वास्थ्य सेवा प्रदान गर्ने उनले बताए । नियमित रुपमा सेवाको उपभोगको लागि सेवाग्राही र सेवा प्रदायकको मोवाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृििद्ध गर्ने रहेको निमित्त निर्देशक चौधरीले बताए । कार्यक्रमका लागि पाल्पामा ३९ लाख, बाँकेमा ४१ लाख र अर्घाखाँचीमा ३१ लाख बजेट रहेको छ ।
लुम्बिनी प्रदेशमा ५१ लाख ५३ हजार जनसंख्या रहेको छ । यहाँ एक वर्ष मुनिको जनसंख्या ८६ हजार, २ वर्ष मुनिको १ लाख ७१ हजार, ५ वर्ष मुनिकौ ४ लाख १६ हजार रहेको छ । १० देखि १९ वर्ष उमेर समुहको जनसंख्या १० लाख २८ हजार, १० देखि १९ वर्षको महिलाको जनसंख्या ५ लाख १० हजार, अनुमानित गर्भवती संख्या १ लाख २१ हजार, जीवित जन्म संख्या ८८ हजार रहेको छ ।
शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले यो विवरण तयार भएपछि गर्भवती हुँदाको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने र सुत्केरी भईसकेपछि गर्ने जाँचको प्रतिशत ९० भन्दा बढी पुर्याउनुपर्ने दायित्व रहेको बताए ।
कम तौल भएका, मरेको बच्चा जन्मिने मुलुकका सातै प्रदेश मध्ये लुम्बिनीमा बढी रहेको छ । पोषणको अवस्था कहालीलाग्दो छ । सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले विवरण संकलन गरिसकेपछि उनीहरुलाई मोबाइल एपमार्फत् निगरानी गरिने भएकाले कार्यक्रम प्रभावकारी हुने बताए । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने वातावरण निर्माण गर्न संघ र प्रदेश सरकारले पनि सघाउनुपर्ने बताए ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले तीन तहकै सरकारले समन्वय गरेर आधारभूत स्वास्थ्य सेवामा लगानी बढाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सर्वेक्षण गर्दा त्यसको विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिए । मेडिक मोबाइलका पवन वैश्यले मोबाईल एप मार्फत पारिवारिक स्वास्थ्य प्रोफाईल तयार गरिने र यसलाई विश्वसनीय बनाउने बताए ।
अझै पनि २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्ने गरेकाले पनि मातृ तथा बाल मृत्यु दर बढेकाले यसलाई कमी गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले बताए ।
लुम्बिनी प्रदेशमा बालमृत्यु दर एक हजार जन्ममा नवजात शिशुमृत्युदर २४, एक वर्ष मुनिका बालबालिकाको मृत्युदर ३४ र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ४१ रहेको छ । राष्ट्रियस्तरमा भने क्रमशः २१, २८ र ३३ रहेको छ । मातृमृत्युदर भने लुम्बिनी प्रदेशमा प्रति १ लाखमा २०७ रहेको छ भने राष्ट्रियस्तरमा १ सय ५१ रहेको छ ।
