गुल्मी — बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर यहाँको मुसिकोटमा एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।
मृतक कुमालका श्रीमान् कर्णबहादुरले बाँदर धपाउनका लागि आफ्नै बारीमा विद्युत्को तार जोडेको र काम गर्ने क्रममा चन्द्रकलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएकी उनलाई लुम्बिनी वामी हस्पिटल मुसिकोटमा पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको नेतृत्वको टोली त्यसतर्फ पुगेको प्रहरीले जनाएको छ ।
