कालीगण्डकीमा बेपत्ता भएका भारतीय नागरिक पाँच दिनपछि मृत भेटिए

चैत्र १०, २०८१

माधव अर्याल

An Indian citizen who went missing in Kaligandaki was found dead five days later

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीधाम क्षेत्रमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधबार दिउँसोदेखि बेपत्ता भएका थिए । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि झण्डै एक किलोमिटर तल्लो भागमा बगेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना कालीगण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएका थिए । 

राम्दी क्षेत्रको भौगोलिक अवस्था नबुझेकाहरु पौडी खेल्दा बेपत्ता हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । यस क्षेत्रमा नदीले भुमरी पारेको र यसको अवस्था थाहा नहुनेहरु पौड्ने समयमा होसियार नबन्दा यस्ता घटना हुने गरको स्थानीय लेखनाथ न्यौपानेले बताए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully