दाङ — दाङमा शनिबार बिहान दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका-१६, गुर्जे खोलामा ठोक्किएको उनले बताए ।
दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ वर्षीय विनोद बस्नेत गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
