तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डमा छनोट भएपछि पालिकाले अनलाइन भोटिङका लागि अपिल गरेको छ ।
इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले आह्वान गरेको बेस्ट प्रेक्टिस ईन सिटिजन पार्टिसिपेशन अवार्डको लागि ईकोलोजिकल ट्रान्जिसन एण्ड ईन्भाईरनमेन्ट समूहमा पालिकाको ग्रिन क्लिन तिलोत्तमा क्याम्पेन छनोट भएको हो । सन् २०२५ को अवार्डका लागि आवेदन माग गरिएकोमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १ सय ३७ मध्ये उत्कृष्ट ४० बीच तिलोत्तमा पनि फाइनल प्रतिस्पर्धामा पर्न सफल भएको हो ।
४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआईडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने पालिका प्रमुख रामकृष्ण खाँणले बताए । उनका अनुसार नगरवासीको बृहत् सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानलाई २०७४ देखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिका यो अवार्डको फाइनलमा पुग्न सफल भएको हो ।
नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब विजेता बनाई नेपालको नाम संसारभर थप चिनाउन विश्वभर रहेका नेपालीलाई अनलाइन भोटिङ गरिदिन नगरप्रमुख खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले अपिल गरेका छन् ।
‘विश्वभर पारिस्थितिक प्रणाली र वातारणको विषय ज्वलन्त समस्या बनेको छ, हामीले बृहत् जनसहभागितामा हरियाली प्रवर्द्धन र नगर ससरफाइमा नमुना काम गरेका छौं, यसलाई नेपालभर र विश्वभर चिनाउन, देखाउन यो अवार्डले ठूलो भूमिका खेल्नेछ,’ खाँणले भने ।
नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख सुनिल पन्थीले ओआईडीपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएकाले एउटा मात्र विधामा भोट दिँदा रद्द हुने बताए । तिलोत्तमालाई पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिने उनले बताए । ओआईडीपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने उनले बताए ।
तिलोत्तमा नगरपालिकाले ०७४ देखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ ।
