पाल्पा — स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि पाल्पाको रामपुरस्थित सहिद बहुमुखी क्याम्पसमा भएको निर्वाचनबाट सभापतिमा राजन गौतम विजयी भएका छन् ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलबाट उम्मेदवारी दिएका अनेरास्ववियुका गौतम ३०१ मतसहित निर्वाचित भएका हुन् ।
गौतमले नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार कसम मल्ल ठकुरीलाई ४० मतले पछि पारे । मल्लले २६१ मत प्राप्त गरेका हुन् । सचिवमा अखिल संयुक्त प्यानलबाट विमल क्षेत्री २८२ मत सहित विजयी भए ।
प्रतिस्पर्धी बन्दना गैह्रेले २७७ प्राप्त गरिन् । कोषाध्यक्षमा संयुक्त प्यानलबाट सच्चा रेग्मी २९९ मत सहित विजयी हुँदा नेविसंघकी धनकला रानाले २५६ मत प्राप्त गरिन् भएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले बताए ।
प्रत्यक्षतर्फको सदस्यहरुमा नेविसंघबाट २७३ मत सहित सदिक्षा ढकाल, संयुक्त प्यानलबाट २६३ मत सहित निरुता ढेंगा, नेवि संघबाट २६१ मत सहित सविना भण्डारी, नेविसंघबाट २६० मत सहित शशी ढकाल र संयुक्त प्यानलबाट २६० मत सहित इन्द्र बहादुर सोती निर्वाचित भए । सहिद क्याम्पसमा ७ सय १५ मध्ये ५ सय ७१ मत खसेको थियो ।
समानुपातिकतर्फ नेविसंघले २७० र अनेरास्ववियुले २९९ मत प्राप्त गरेको छ । मतगणनाका क्रममा मंगलबार राती केही मत गन्न बाँकी रहँदा स्थगित भएको मतगणना बुधबार साँझ पुनः गरिएको थियो ।
सर्वदलीय सर्वपक्षीय बैठक पश्चात् बेलुकी ८ बजेदेखि मतगणना कार्य पुनः सुरु भएको हो । सहिद बहुमुखी क्याम्पसमा २०४८ सालदेखि नेवि संघले नेतृत्व गर्दै आएको थियो । मतदान सम्पन्न भई मतगणना भइरहेका बेला उत्पन्न असहज परिस्थितिका कारण मतगणना स्थगित भएको थियो ।
केही मत गणना गर्न बाँकी रहँदा विवाद सिर्जना भएकाले नेविसंघका प्रतिनिधि गणनास्थलबाट उठेर हिँडेको र बाहिरी वातावरण असहज बनेकाले प्रहरीले तीन राउन्ड हवाई फायर गरेर भीड तितरबितर पारेको थियो ।
पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा भने शान्तपूर्वक मतगणना जारी छ । जिल्लाकै दर्छा, उद्धबुद्ध, माण्डव्य बहुमुखी क्याम्पसमा भने निर्विरोध निर्वाचन सम्पन्न भइसकेको छ । तीनवटै क्याम्पसमा अखिलको नेतृत्वमा स्ववियु नेतृत्व चयन भएको छ ।
