लुम्बिनीका ५९ क्याम्पसमा स्ववियु निर्वाचन

३६ मा सर्वसम्मत

चैत्र ५, २०८१

घनश्याम गौतम

SWIU elections in 59 campuses of Lumbini

बुटवल — लुम्बिनी प्रदेशका सरकारी र सामुदायिकसहित ९५ वटा क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७ आंगिक तथा सम्बन्धन प्राप्त ८८ सामुदायिक गरी ९५ क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको हो ।

लुम्बिनी प्रदेशमा १ सय ४६ क्याम्पस छन् । तीमध्ये ९५ क्याम्पसमा मात्रै निर्वाचनका लागि सहमति जुटेको छ । अन्य क्याम्पसहरूमा विभिन्न संगठनहरुले गरेको विवादका कारण रोकिएको छ । निर्वाचन हुने ९५ मध्ये ३६ क्याम्पसमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ तर संगठनहरुले यसलाई सार्वजनिक गरेका छैनन् ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनिता काफ्लेका अनुसार विभिन्न क्याम्पसहरूमा भएका संगठनहरुबीच सहमति गरेर सर्वसम्मत गरिएको तर त्यसलाई सार्वजनिक नगरिएको बताइन् ।

नेविसंघका केन्द्रीय सदस्य टिआर पाण्डेका अनुसार प्रदेशभरका सबै क्याम्पसमा निर्वाचन हुन नसकेको र सहमति भएर सर्वसम्मत भएका सबै क्याम्पसको तथ्यांक एकीकरण नगरिए पनि ३६ क्याम्पसमा सहमति भएको जनाए ।अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष पुष्कर शर्माका अनुसार निर्वाचन प्रक्रिया सुरु भएर पनि केही क्याम्पसमा रोकिएको छ । शर्माले रोकिएका कलेजमा सहमति गरेर छिटै निर्वाचन प्रक्रिया सुरु गरिने बताए ।

प्रदेशका १५ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, १२ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु, ५ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), ३ क्याम्पसमा विप्लव नेतृत्वको अखिल (समाजवादी) र १ क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully