बाँकेबाट एसईईमा १० हजार परीक्षार्थी सहभागी हुँदै, ४३ जना बाल बिज्याइँकर्ताले पनि परीक्षा दिने

चैत्र ५, २०८१

रुपा गहतराज

10,000 examinees will participate in SEE from Banke, 43 child accountants will also take the exam

नेपालगन्ज — यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । पछिल्ला केही वर्षयता बाँकेमा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि हुँदै आएको छ ।

आगामी चैत ७ गतेबाट सुरु हुने परीक्षाका लागि जिल्लाका ८ वटा पालिकाका १० हजार ४१६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईंले बताए । 

उनका अनुसार दुई मदरसासहित १०४ सामुदायिक विद्यालय र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १७९ छात्रा र पाँच हजार २३७ छात्र गरी १० हजार ४१६ जना विद्यार्थीले परीक्षा दिने भएका हुन् । 

जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ४३ जना बाल बिज्याइँकर्ताले पनि यसवर्ष एसईई दिन लागेका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३३ जना बाल बिज्याइँकर्ता र बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित नौवस्ता बालसुधार गृहका १० जना बाल बिज्याइँकर्ताले एसईई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिए ।

यस्तै १० वटा सामुदायिक विद्यालयका ३१५ नियमित र ५९ ग्रेड वृद्धि गरी ३७४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुनेछन् ।

यसवर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक/एक गरी ३६ परीक्षा केन्द्र तोकिएको छ ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully