तिलोत्तमा — प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मीले एपीएफ क्लबलाई तीन विकेटले पराजित गर्दै जितको यात्रालाई निरन्तरता दिएको हो ।
तिलोत्तमास्थित एक्सट्राटेक ओभल मैदानमा एपीएफले दिएको १४२ रनको लक्ष्य पछ्याएको आर्मीले ४२.५ ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो । आर्मीको जितमा कुशल मल्लले अविजित ३१ रन जोडे । मल्लले ५९ बलमा चार चौका एक छक्का प्रहार गरे । अन्तिममा मैदान प्रवेश गरेका सोमपाल कामीले अविजित २२ रनको योगदान गरे ।
विवेश यादव २६ बसिद र अहमद १३ रनमा आउट भए । बलिङमा एपीएफका लागि कप्तान रोहित पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २–२ विकेट लिए । किशोर महतोको नाममा एक विकेट रहृयो ।
त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको एपीएफले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि सन्दीप जोराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । जोराले ९१ बलमा ९ चौका प्रहार गरे ।
अमर राउटेला र भुवन कार्कीले समान ११/११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर लोकेश बम ४, आशिफ शेख ६ र कप्तान रोहित पौडेल ४ रनमा आउट भए । किशोर महतोले ११ रन जोडे । बलिङमा आर्मीका लागि आकाश चन्द एक्लैले चार विकेट लिए । चन्दले १० ओभर बलिङमा गर्दै ३५ रन खर्चिए । सोमपाल कामीले ३ र शाहब आलमले २ विकेट हात पार्दा बसिर अहमदको नाममा एक विकेट रहृयो ।
यो नतिजासँगै अपराजित आर्मी १० अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत छ । एपीएफ चौथो स्थानमा झरेको छ ।
