डोहोटेमा अस्थायी प्रहरी चौकी स्थापना

चैत्र ४, २०८१

वीरेन्द्र केसी

A temporary police station has been set up at Dohote

अर्घाखाँची — शितगंगा नगरपालिका-११ डोहोटेमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सन्धिखर्क- गोरुसिंगे सडक अन्तर्गतको जंगल क्षेत्रमा रहेको डोहोटेमा आइतबार शितगंगा नगर प्रमुख छविलाल पौडेलले चौकीको उद्घाटन गरेका हुन्। यो क्षेत्र भौगोलिक जटिलताका कारण जंगल क्षेत्र धेरै र पातलो बस्ती रहेको छ।

चौकीमा प्रहरी नायव निरीक्षक भेषलाल बुढाथोकीको नेतृत्वमा ६ जना प्रहरीको टोली रहेको छ । उद्घाटनमा नगर प्रमुख पौडेलले क्षेत्रफलका हिसाबले देशकै ठूलो शितगंगा नगरपालिकाभित्र अझै तीन/चार ठाउँमा यस्ता प्रहरी चौकी आवश्यक परेको बताए ।

उनले शितगंगाको ठाडामा इलाका प्रशासन कार्यालय स्थापनाकालागि समेत आफूले पहल गरिरहेको बताए । 'इलाका प्रशासन कार्यालय स्थापनाका लागि प्रधानमन्त्री, गृहमन्त्रीसँग पटक पटक ध्यानाकर्षण गराइएको छ। यहाँ अति आवश्यक पनि छ,' उनले भने। सदरमुकामदेखि दुर्गमका सर्बसाधारणलाई सहज सेवा दिन संघ सरकारले ठाडामा प्रशासन कार्यालयको लागि स्वीकृत गरिदिनुपर्ने उनको माग छ।

प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न उक्त चौकी स्थापनाले सहज हुने बताए । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले प्रहरीले कानुन र ऐनमा टेकेर शान्ति सुरक्षा कायम गर्न पछाडि नहट्ने बताए।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully