सालको काठ र ट्र्याक्टरसहित तीन जना प्रहरीको नियन्त्रणमा 

चैत्र ३, २०८१

माधव अर्याल

Three people with sal wood and tractor under the control of the police

पाल्पा — फर्निचर उद्योगमा लैजाँदै गरेको सालको काठको गोलिया र ट्र्याक्टरसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति नियन्त्रणमा लिएको लु ५ त ११ ६० नम्बरको ट्र्याक्टरसहित काठ धनी ताम थापा, सवारी चालक शिवचरण चमार, सवारी धनी विष्णु पाण्डेलाई नियन्त्रणमा लिइएको हो । 

ट्र्याक्टरमा लोड गरी १२ थान ‘बि’ ग्रेडको सालको गोलिया ४२.०५ क्यूफिट काठ बरामद गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए । तानसेन नगरपालिका–६, बाट माथागढी गाउँपालिकाको सराईस्थित फर्निचर उद्योगतर्फ लैजाने क्रममा बाटोमा ट्र्याक्टरसहित काठ बरामद गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । राति १२ बजेतिर ट्र्याक्टरमा काठ लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

काठ धनी थापाले भने आवादीको काठ भएको दाबी गरेका छन् । डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार बरामद काठका सम्बन्धमा थप अनुसन्धान गर्न बाँकी रहेको छ । वन ऐन तथा नियमावली अनुसार निजी आवादीकै भए पनि डिभिजन वन कार्यालयबाट स्वीकृत कागजात बनाएर मात्र काठ काट्ने र ओसारपसार गर्नुपर्छ । कार्यालयले मुद्दाको अनुसन्धान गर्न विष्णु कार्कीलाई अनुसन्धान अधिकृत तोकेको छ । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully