बुटवलमा वन संरक्षण र व्यवस्थापनसम्बन्धी एक महिने तालिम

चैत्र ३, २०८१

सन्जु पौडेल

One month training on forest conservation and management in Butwal

तिलोत्तमा — वन संरक्षण र व्यवस्थापनबारे एक महिने आधारभूत तालिम बुटवलमा आइतबार सुरु भएको छ । रुपन्देहीको बुटवलस्थित वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले वन रक्षहरुलाई लक्षित गरी ३५ दिने तालिम सुरु गरेको हो । 

आइतबार एक कार्यक्रमबीच तालिको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले कर्मचारीका लागि गरेको लगानी प्रतिफलयुक्त हुन जरुरी रहेको बताए । वन रक्षक नागरिकसँग अत्यन्तै नजिक भएर काम गर्ने कर्मचारी भएकाले उनीहरु संवेदनशील र अनुशासित हुनुपर्ने बताए । ‘कुनै पनि तालिमको लक्ष्य निर्धारण गरिएको हुन्छ,’ उनले भने, ‘लक्ष्यमा पुग्नका लागि तालिम प्रदायक र तालिममा सहभागी दुवैले ख्याल गर्नुपर्छ ।’ 

मन्त्री कलवारले यस प्रकारका तालिमले कर्मचारीको क्षमता विकासमा मात्र नभई जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा कस्तो भूमिका निर्वाह गर्न सक्षम हुने भन्ने विषयबारे पनि ज्ञान हुने जनाए । तालिमलाई तालिममा सीमित नगराउन यसपटक सहभागीको मूल्यांकनका लागि निर्णायकसमेत राखिएको र पुरस्कृत गर्ने व्यवस्थासमेत मिलाइएकाले सोहीअनुसार ग्रहण गर्नुपर्ने उनले सुझाए । 

उक्त अवसरमा वन निर्देशनालय बुटवलका निमित्त महानिर्देशक यज्ञमूर्ति खनालले प्रदेशका १३ वटा डिभिजन वन कार्यालयका वन रक्षकलाई सहभागी गराइएको तालिमले अर्थपूर्ण नतिजा दिने विश्वास व्यक्त गरे । उनले तालिम लिएका कर्मचारीले आफ्ना कार्यालय, मातहतका कार्यालयका साथीसँग अनुभव साटेर सहजीकरण गर्न सके त्यसले समग्र वन कार्यालयको काममा सकारात्मक प्रभाव पार्ने बताए । 

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बुटवलका निमित्त निर्देशक जितेन्द्र सिंह खड्काले तालिमका लागि सरकार र प्रशिक्षण केन्द्रको ठूलो लगानी रहेको बताए । उनका अनुसार एक जना रक्षकलाई तालिम प्रदान गर्न १ लाख रुपैयाँ लाग्दछ । यसरी बजेट खर्च गरेर गरिएको तालिमबाट अपेक्षा पनि राखिने भएकाले सहभागी कर्मचारीलाई सेवामा निरन्तरताका लागि टिकाउन सकियोस् भन्ने मुख्य उद्देश्य उनले बताए । 

३५ दिनसम्म चल्ने तालिममा २५ जनाको सहभागिता रहेको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully