रोल्पा — रोल्पा जलजला यातायात प्रालिले कान्तिपुरकर्मी काशीराम डाँगीलाई सम्मानित गरेको छ । रोल्पामा रहेर निष्पक्ष र निरन्तर रूपमा पत्रकारिता क्षेत्रमार्फत समुदायमा योगदान पुर्याएकोमा सम्मानित गरिएको हो ।
सदरमुकाम लिबाङमा शनिबार र आइतबार सम्पन्न प्रालिको दोस्रो अधिवेशन र चौथो साधारण सभाको सन्दर्भमा पत्रकार डाँगीसहित पत्रकारहरू खेम बुढा, महेश न्यौपाने, मानसिंह विश्वकर्मा, दिनेश सुवेदी, लोकेन्द्र चन्दलगायत पत्रकार एवं प्रालि सम्बद्ध चालक, कर्मचारी र व्यवसायीलाई समेत सम्मानित गरिएको अध्यक्ष तेजविक्रम रावतले बताए । पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति डाँगी दुई दशक बढी अवधिदेखि कान्तिपुरमा आबद्ध छन् ।
रोल्पाबाट सुरु भई समाप्त भएको तत्कालीन सशस्त्र द्वन्द्वको अवधिमा समेत उनले अविचलित रूपमा पत्रकारिता गरेका थिए । द्वन्द्व रिपोर्टिङ गर्दा तत्कालीन माओवादी र राज्य पक्षको निशानामा परेर पनि उनले निरन्तर यस क्षेत्रमा काम गर्दै आएका छन् । द्वन्द्व रिपोर्टिङसँगै द्वन्द्व व्यवस्थापन, विकास, मानवअधिकार, समावेशी, पर्यटन र सामाजिक विषयमा उनले गहिरो रिपोर्टिङ गरिरहेका छन् ।
यसैबीच प्रालिको अध्यक्षमा शंकुरकुमार विष्ट निवाचित भएका छन् । प्रालिको वरिष्ठ उपाध्यक्षमा ठगेन्द्रप्रसाद केसी, उपाध्यक्षमा मदन गिरी, महासचिवमा बरमान बुढामगर, सचिवमा कृष्ण लामा, कल्याणकारी सचिवमा भुपेन्द्र शर्मा र टेकेन्द्र घर्तिमगर, कोषाध्यक्षमा शुरेन्द्र थापा, सह कोषाध्यक्षमा भरत कुमार बिष्ट चयन भएका हुन् । यस्तै सदस्यमा शालिकराम बिष्ट, भक्तबहादुर बस्नेत, झपेन्द्र दमाई, हेमराज खनाल, बलराजसिंह ठकुरी र हेमराज खत्री चयन भएका हुन् । सबैलाई निर्विरोध चयन गरिएको संस्थापक अध्यक्ष पुष्पा श्रेष्ठले बताइन् । प्रालिमा आबद्ध करिब डेढ सय सदस्य छन् ।
