तराईमा होली मनाइँदै

चैत्र १, २०८१

रुपा गहतराज

Holi being celebrated in Terai

नेपालगन्ज — शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाइँदै छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ ।

विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले पुराना पुस्ता बाहेक नयाँ पुस्ताले त्यो संस्कृति मान्दैनन् ।’

हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

होलीलाई लक्षित गरी विभिन्न ठाउँमा मेला तथा महोत्सव आयोजना गरिएका छन्।

होलीमा अवाञ्छित गतिविधि रोक्न प्रशासनले तराईका जिल्लाहरूमा सुरक्षा सतर्कता बढाएको छ । अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले विशेष सुरक्षा योजनासहित परिचालन गरेको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully