डढेलो रोक्न सारंगीको धुन !

गन्धर्व टोलीले ६१ स्थानमा चेतनामूलक गीत गाउनेछन् भने गाउँलेलाई माइकबाट खबर गरिनेछ

फाल्गुन २७, २०८१

वीरेन्द्र केसी

The melody of sarangi to stop the fire!

अर्घाखाँची — हिउँदमा कम पानी परेकाले यसपालि डढेलोको बढी जोखिम छ । सम्भावित वनडढेलो रोकथामका लागि बेलाबेला सुकेका पतकर सोहोर्ने र अग्निरेखा बनाउने काम हुँदै आएका पनि छन् । अर्घाखाँचीमा भने आगलागी नियन्त्रणका लागि नयाँ जुक्ति निकालिएको छ ।

आगलागीको सम्भावित जोखिम रोक्न अब गन्धर्व सारंगी रेट्दै गाउँगाउँ पुग्नेछन् । डिभिजन वन कार्यालयले यो उपाय निकालेको हो । जिसस प्रमुख जीवनारायण कोइरालाले मंगलबार 'सारंगीमा वनडढेलो नियन्त्रण सचेतना–२०८१' अभियानको शुभारम्भ गरे । 

जिल्लाका ६ वटै पालिकाका सम्भावित जोखिम रहेका गाउँमा पुगेर दुई गन्धर्वले सारंगीको धुनमा चेतनामूलक सन्देश पनि मिसाउनेछन् । यसका लागि सन्धिखर्क नगरपालिका–९ का ठाकुर गन्धर्व र बेगमान गन्धर्वले सन्देशमूलक गीत तयार गरिसकेका छन् । उनीहरुको धुन र स्वरलाई अर्घाकै बलबहादुर रायमाझीले मादल बजाएर सघाउनेछन् । उनीहरुले कसरी आगलागी हुन नदिने, वन र पर्यावरणको महत्व र आगलागी भइहालेमा कसरी नियन्त्रण गर्नेबारेमा गीतमार्फत सन्देश छर्नेछन् ।

माघ १५ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट डढेलो नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत गरेर यो अभियान अगाडि बढाएको डिभिजन वन कार्यालय प्रमुख मोहन श्रेष्ठले बताए । 'सञ्चारमाध्यममा प्रचारप्रचार, सामुदायिक वन उपभोक्तालाई अग्नि नियन्त्रण गर्ने तरिका, सुरक्षा निकायसहित अन्यलाई अग्नि नियन्त्रणको औजार उपलब्ध गराइएको छ,' उनले भने, 'अर्घाखाँची डढेलोको संवेदशनशील जिल्लाअन्तर्गत पर्ने भएकाले यो नयाँ उपाय पनि लगाइरहेका छौं ।'

जिल्लाको बराहनेट, किमडाँडा, रतनमारे, शीतगंगाको लौरी, सिद्धारा, पाकुरी, खयरबट्टी, भेडामारेलगायत ३१ स्थान डढेलोको जोखिममा रहेको सहायक वन अधिकृत तथा सूचना अधिकारी केशर खड्काले बताए । 'गन्धर्व  टोलीले ६१ स्थानमा पुगेर चेतनामूलक गीत गाउनेछन् । एक दिनमा चार स्थानमा उनीहरु पुग्नेछन्,' उनले भने, 'गीत गाउने स्थानमा भेला हुन गाउँलेलाई माइकबाट खबर गरिनेछ ।'

चारवटै सुरक्षा निकाय, समुदायका उपभोक्ता समितिसँग समन्वन गर्दै वन कार्यालयले पालिकास्तरमा जनप्रतिनिधिसँग बैठक गरिसकेको उनले बताए । हरेक सामुदायिक वन उपभोक्ता समितिमा ५ देखि १५ जना वन हेरालु र स्वयंसेवक दस्ता पनि तयार गरिएको उनको भनाइ छ ।

सन्धिखर्कमा शुभारम्भ गरिएको सचेतना अभियानमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले केही वस्तु जलाउनु परेमा बिहान ८ बजेभित्र वडा प्रहरीको अनुमति लिन सर्वसाधारणलाई अनुरोध गरेका छन् । अरु समयमा आगो लगाउन प्रतिबन्ध लगाइएको उनले बताए । ‘यदि कसैले वनमा आगो लगाएको थाहा पाए, कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘वन उपभोक्ता समितिका पदाधिकारी बढी जिम्मेवार बन्नुपर्छ ।'

वीरेन्द्र केसी

Link copied successfully