तिलोत्तमा नागरिक सहभागिताको असल अभ्यास विश्व प्रतियोगिताको प्रारम्भिक सूचीमा

विश्वका ३७ देशका १ सय ३७ स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा उत्कृष्ट ४० छनोट

फाल्गुन २६, २०८१

सन्जु पौडेल

Tilotta on Good Practices of Citizen Participation in Preliminary List of World Competition

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको प्रतियोगिताको प्रारम्भिक सूचीमा पर्न सफल भएको छ ।

अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले गर्ने २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगर प्रमुख रामकृष्ण खाँणले बताए । उनका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १ सय ३७ स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो । 

ओआईडीपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच विषयमा आवेदन माग गरेकामा तिलोत्तमा जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानअन्तर्गत प्रारम्भिक सूचीमा परेको उनले जानकारी दिए । 

छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङ्कनको ५० अंकका आधारमा आगामी मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआईडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीको वेबसाइटमा उल्लेख छ ।

तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वमा रहेका नेपालीलाई नगर प्रमुख खाँणले अपिल पनि गरेका छन् ।

ओआईडीपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । अनलाइन भोटिङ गर्दा एक जनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआईडीपीको वेबसाइटमै गएर मत दिन सकिनेछ ।

तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान सञ्चालन गर्दै आएको छ । आठौं वर्षमा निरन्तर चल्दै आएको अभियानको १ सय ४० औं श्रृंखला सम्पन्न भएको नगर प्रमुख खाँणले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully